आयोगले देशव्यापी अभियान चलाउने

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले जातीय भेद्भाव तथा छुवाछुत अन्त्यका लागि देशव्यापी अभियान चलाउने भएको छ ।

आयोगमा आज आयोजना गरेको छलफलमा आयोगका प्रकाश वस्तीले सरोकारवाला सबैको साथ र सहयोग लिएर यही महीनादेखि सातै प्रदेशका बढी प्रभावित जिल्लामा केन्द्रित रहँदै अभियान सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । आयोगले विश्व हिन्दु महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी, अन्तरधार्मिक परिषद्का अध्यक्ष दामोदर गौतम, सचिव केशवप्रसाद चौलागाईं, अस्सलाम सोसाइटीका अध्यक्ष नजरुल हुसेन, इसाइ समुदायका अध्यक्ष इसुजङ्ग कार्की, निश्न नेपालका सदस्य रोशनी कर्माचार्य, दलित गैरसरकारी संस्था महासङ्घका निवर्तमान अध्यक्ष गजाधर सुनारसँग सुझावसमेत मागेको थियो ।

छलफलका क्रममा धर्म गुरुहरुले जातीय भेद्भाव तथा छुवाछुतजन्य कार्यलाई कुनै पनि धर्मले स्वीकार नगरेको धारणा राखेका थिए ।  व्यवहारमा जातीय भेद्भाव तथा छुवाछुतजन्य कार्य विद्यमान रहेकाले प्रभावकारी कार्यक्रमको आवश्यकता र अभियान राम्रो हुने सुझाव दिएका थिए । अभियान सफलतापूर्वक सम्पन्न गर्नका सबै धर्म गुरुले लागि सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए । त्यसअघि आयोगले राष्ट्रिय दलित आयोग, दलित गैरसरकारी संस्था महासङ्घ र दलित अधिकारकर्मीसँग आयोगले परामर्श गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?