सरकार र राष्ट्र बैंकको अमैत्रीपूर्ण नीतिहरुको विरुद्धमा विरोध प्रदर्शन

लोकपथ
39
Shares

काठमाडौं । नाडाको संस्थागत सदस्य मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन प्रदेश नम्बर १ ले नेपाल राष्ट्र बैंकद्वारा जारी नीति तथा बैंक ब्याजदरको विरुद्धमा विराटनगरको महेन्द्र चोकमा पनि शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रमको सम्पन्न गरेको छ । मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश नम्बर १ का अध्यक्ष सञ्जय कुमार श्रेष्ठको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा विराटनगर क्षेत्रलगायत प्रदेश १ मा सञ्चालित विभिन्न अटोमोबाइल्स क्षेत्रसँग सम्बन्धित व्यवसायीहरुको सहभागिता रहेको थियो ।

मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश १ र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले बिहीवार एकसाथ काठमाडौंमा र विराटनगरमा संयुक्त विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनका क्रममा अटोमोबाइल्स व्यवसायीहरूले हातमा कालोपट्टी, कालो ब्यानर र प्लेकार्ड बोकेर विराटनगरको महेन्द्रचोकमा शान्तिपूर्ण धर्ना दिएका थिए ।

विरोध प्रदर्शनमा बैकिङ क्षेत्रको सहयोग विना अटोमोबाइल्स क्षेत्र चल्नै नसक्ने भएकोले त्यसको फाइदा उठाउँदै बैंक तथा वित्तीय संस्थाहरुले ७.५ प्रतिशतको ब्याजदर बढाएर १६.५ प्रतिशतसम्म पु¥याएको जानकारी दिए । मुलुकको मुख्य आर्थिक क्षेत्र उद्योगधन्दा र व्यवसाय नै धरासायी बनेको बेलामा बैकिङ क्षेत्र भने अर्बौको नाफामा रहनु दुर्भाग्यपूर्ण भएको बताए ।

मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश १ का अध्यक्ष सञ्जयकुमार श्रेष्ठले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई अझ गहन रुपमा समीक्षा गर्नु पर्ने र संस्थागत निक्षेपको ब्याजदर ४ प्रतिशत कायम गरी लगानीयोग्य रकमको सुनिश्चितता गर्नु पर्ने बताए । कार जीप र भ्यान जस्ता नीति प्रयोजनका सवारी साधनहरुको आयात खुला भए पनि एल.सी खोली ५० प्रतिशत नगर मार्जिन कायम रहेकाले मार्जिन हटाउनु पर्ने । सवारी साधन आयात खुला गरे पनि ५० प्रतिशत मार्जिन, ५० प्रतिशत मात्रै फाइनानसिङ गर्न पाइने व्यवस्थाले अटो व्यवसायीहरु मारमा परेको भन्दै उनले नगद मार्जिनलाई पुरानै अवस्थामा ल्याउनु पर्ने र ८० प्रतिशत फाइनान्सिङ बनाउनुपर्ने जस्ता माग राखेको थिए । अध्यक्ष श्रेष्ठले अटोमोबाइल्स व्यवसायीहरूले भोग्नु परेको १७ देखि १८ प्रतिशत बैंक ब्याजदरका कारण व्यवसायबाट हात धुनु पर्ने स्थिति आइलागेको कारण देशभर नाडाले ७ प्रदेशमा एकसाथ विरोध प्रदर्शन आयोजना गरेको जानकारी गराउनु भयो ।

नाडाका केन्द्रीय उपाध्यक्ष सुवाष आचार्यले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सुधार नगरे अर्थतन्त्रलाई कसैले जोगाउन नसक्ने भन्दै चिन्ता व्यक्त गरे । उनले उद्योगी व्यवसायीहरुको विरोधलाई मत्थर पार्नका लागि मात्रै स्प्रेडदरमा सामान्य संशोधन गरिएको जानकारी गराएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा गर्दै स्प्रेडदरलाई ४.४ प्रतिशतबाट ४ प्रतिशतमा कायम गरे पनि त्यसले समस्याको समाधान दिन नसक्ने बताए । स्प्रेडदरलाई कम्तीमा पनि ३ प्रतिशत कायम गर्नु पर्ने उनको धारणा छ । त्यसैगरी बैंकको चर्को व्याजदरकै कारण मुलुकका ३० प्रतिशत व्यवसायीहरु खराब ऋणीको सूचीमा परेको उनले जानकारी दिए । यस्तै अवस्था कायम रहे ७० प्रतिशत उद्योगी व्यवसायीहरु खराब ऋणीको सूचीमा पर्ने र मुलुकको आर्थिक क्षेत्र नै दर्दनाक बन्ने समेत दाबी गरेका छन् ।

अटोमोवाइल्स क्षेत्रले मुलुकमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा १५ लाखलाई रोजगारी सिर्जना गरिरहको र अहिलेसम्म पनि जसोतसो व्यवसायलाई थेग्दै आएको र अब भने निकै अप्ठेरो पर्न सक्ने उनले बताए । सरकारले एल.सी खुलाएर व्यवसायीले सवारी साधन ल्याए पनि खरिद बिक्री हुन नसक्ने अवस्था आइसकेकोले शोरुम मै थन्क्याउनु पर्ने अवस्था आएको छ भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?