विश्वकपमा सनसनी मच्चाएको मोरक्कोको उपाधि चुम्ने सपना

मोरोक्कोले क्वाटर फाइनलमा पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्दा क्रिष्टियानो रोनाल्डोका करोडौँ समर्थकहरू स्तब्ध भए । यो सफलताले पोर्चुगललाई घर फर्किन बाध्य बनायो भने विजेता मोरोक्कोलाई सेमी फाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र समेत बनायो ।

कतार विश्वकप समूह एफ मा रहेर ‘फिफा वल्र्डकप’ चुम्ने अभियानमा मैदानमा उत्रिएको मोरोक्कोले यही विश्वकपको लीग चरण, नक आउट चरणको प्रिक्वाटर र क्वाटर फाइनलमा पाएको सफलताहरू आश्चर्य जनक नै लाग्छन् । अब ‘फिफा वल्र्डकप’ चुम्न केबल दुई खेल मात्र टाढा रहेको मोरोक्कोले अब सेमी फाइनलमा के गर्ला भन्ने कौतुहलता फुटबलका पण्डितहरूमा परिरहेको छ ।

लीगमा आफ्नो समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुगेको मोरोक्कोले विश्वकप विजेता स्पेनलाई प्रिक्वाटर फाइनलमा हराउन सफल भएपछि अहिले मोरोक्को अगाडी अर्को विश्वकप विजेता फ्रान्स सेमिफाइनलमा अर्को तगारोको रूपमा रहेको छ ।

कतार विश्वकपमा मोरोक्कोले समूह चरणको पहिलो खेलमा साबिक उपविजेता क्रोएसियासँग बराबरी खेलेर सुरुवात गरेको थियो । तर दोस्रो खेलमा भने अप्रत्याशित नतिजा निकाल्न सफल भयो । फिफा र्याङकिङको पहिलो स्थानमा रहेको बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेर सबैलाई स्तब्ध पारेको थियो । समूह चरणको तेस्रो खेलमा मोरोक्को क्यानडामाथि हाबी नै भयो । क्यानडालाई २–१ गोल अन्तरले पराजित गरेर समूहको शीर्ष टिम बन्दै मोरोक्को नक आउट चरमा प्रवेश गरेको थियो ।

नक आउट चरणको प्रिक्वाटर फाइनलमा स्पेन विरुद्ध मोरोक्कोको जादु नै चल्यो । निर्धारित ९० मिनेटसम्म कसैले पनि गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । पेनाल्टीमा मोरोक्कोका गोलरक्षकको शानदार प्रदर्शनले मोरोक्कोलाई क्वाटर फाइनलसम्म डोहोर्यायो । त्यसपछि क्वाटर फाइनलको खेलमा कमजोर देखिएको भए पनि मोरोक्कोले पोर्चुगललाई १–० गोल अन्तरले पराजित गरेरै छोड्यो ।

मोरोक्कोको फुटबल इतिहास 

मोरोक्कोले स्वतन्त्रताको लडाइमा विजय प्राप्त गरेपछि, सन् १९५५ मा रोयल मोरक्कन फुटबल सङ्घको गठन भयो । मोरोक्कोको राष्ट्रिय टोलीले इराकसँग ३-३ को बराबरी खेल्दै सन् १९५७ मा आफ्नो आधिकारिक डेब्यू गरेको थियो ।

त्यसपछि मोरोक्कोले १९७० मा मोरोक्को क्वालिफायर भएर विश्वकपमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको थियो । उक्त संस्करणको विश्वकपमा मोरोक्को समूह चरणबाटै बाहिरिएको थियो । समूह चरणमा मोरोक्कोले बुल्गेरियासँग बराबरी खेलेको थियो भने जर्मनी र पेरुसँग पराजित भएको थियो ।

सबैभन्दा ठुलो सफलता

त्यसपछिको अवधिमा मोरोक्कोले अफ्रिका कप अफ नेसन्समा लहरहरू बनाउन थाल्यो । सन् १९७६ गिनी विरुद्ध निर्णायक खेलमा, अहमद माक्रोहले खेल सकिन ४ मिनेट बाँकी रहँदा गोल गरेर खेल बराबरीमा ल्याएका थिए । उक्त खेलमा मोरोक्कोले आफ्नो पहिलो उपाधि जितेको थियो ।

मोरोक्कोले सन् १९८० को दशकमा खेलेका टूर्नामेन्टमध्ये तीनमा शीर्ष ४ मा रहन सफल भएको थियो ।
सन् १९८० मा, मोरोक्कोले नेसन्स कप खेलमा इजिप्टलाई २-० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थानमा चित्त बुझाएको थियो । सोही प्रतियोगितामा च्याम्पियन नाइजेरियाले मोरोक्कोलाई पराजित गरेको थियो । उक्त समयमा मोरोक्कोबाट अजिज बाउडरबाला र मोहम्मद तिमोमी जस्ता खेलाडीहरूले एटेकिङ लाइनको नेतृत्व गरिरहेका थिए ।

नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकी टोली

मोरोक्को सन् १९८६ मा विश्वकपमा नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकी टोली बन्यो । उक्त संस्करणको विश्वकपमा मोरोक्को निकै कठिन समूहमा परेको थियो । मोरोक्कोले समूह चरणको खेलमा इङ्गल्यान्ड र पोल्यान्डसँग ०-० को बराबरी खेलेको थियो । समूह चरणको अन्तिम खेलमा भने मोरोक्कोले पोर्चुगललाई ३-१ ले गोल अन्तरले पराजित गरेको थियो ।

नकआउट चरणमा मोरोक्कोको सामना जर्मनीसँग भयो जसमा मोरोक्को १–० गोलले पराजित भएर घर फर्किएको थियो । जर्मनीसँगको निर्धारित ९० मिनेटसम्मको खेलमा बराबरी रहेको थियो । तर इन्ज्योरी टाइमको अन्तिम मिनेटमा जर्मनीका लोथर म्याथिउसले गोल गरेसँगै मोरोक्कोको क्वाटर फाइनल पुग्ने यात्रामा पूर्णविराम लागेको थियो ।

सन् १९९० मा आयोजना भएको विश्वकपमा मोरोक्को छनोट हुन सकेन । सन् १९९४ मा मोरोक्को छनोट भएर विश्वकपमा पुनः फर्कियो । १९९४ को विश्वकपमा भने मोरोक्कोले उल्लेखनीय सफलता भने हात पार्न सकेन ।

समूह चरणमा भएको खेलमा मोरोक्कोले स्कटल्यान्डलाई ३-० ले हराएर नर्वेसँग २-२ को बराबरी खेल्दै एक कदम अगाडि बढेको थियो । नकआउट चरणमा पुग्ने मोरोक्कोको सपनालाई नर्वेले ध्वस्त पारेको थियो । नर्वेले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेसँगै मोरोक्को समूह चरणबाटै बाहिरिएको थियो ।

दुई दशकको अनुपस्थिति पछि मोरोक्को सन् २०१८ को विश्वकपको फाइनल चरणमा मात्र उपस्थित हुन सक्यो । २०१८ को विश्वकपमा छनोट भए पनि मोरोक्कोले स्पेन, पोर्चुगल र इरान रहेको कठिन समूहको सामना गर्नु परेको थियो । आफ्नो पहिलो खेलमा इरानसँग ०-१ ले पराजित भएपछि मोरोक्कोले रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलसँग ०-१ ले पराजित हुनु परेको थियो । पोर्चुगलसँग पराजय भोगेसँगै विश्वकपको अघिल्लो चरणमा जान पूर्णविराम लागेको मोरोक्कोले तेस्रो खेलमा स्पेनसँग २-२ गोलको बराबरी खेलेको थियो ।

यो विश्वकपको सेमी फाइनलमा स्थान बनाएको मोरोक्कोले सेमी फाइनल पार गर्न साबिक विजेता फ्रान्सलाई पराजित गर्नु पर्छ । यो क्षण मोरोक्कोलाई निकै कठिन र चुनौती पूर्ण नै रहेको देखिन्छ । क्यानडा, बेल्जियम, स्पेन र पोर्चुगललाई पराजित गरेर उच्च मनोबलमा रहेको मोरोक्कोले फ्रान्सलाई पराजित गरेमा यसलाई पनि ‘फ्लुक’ भन्न नमिल्ने फुटबलका जानकारहरू बताउँछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?