गरियो गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

काठमाडौँ-यमपञ्चक अर्थात् तिहारको चाँैथो दिन आज गाई, गोवद्र्धन, गोरु र कृषकको पूजाआजा गरी मनाइएको छ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातनकालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरको माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसिकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एव् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।यही मान्यताका आधारमा आज गाई पूजा गरिएको हो । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोबद्र्धन पर्वत मानी पूजा गरियो । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको विश्वास छ ।वर्षभर कृषि कर्म गर्ने कृषक र जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?