न्यूयोर्कमा नेपालको पर्यटन प्रर्वधनमा एनआरएनको भूमिकाका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

लोकपथ
39
Shares

काठमाडौं । नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले गैरआवासीय नेपाली संघ, अमेरिका, न्यूयोर्क च्याप्टरसँगको सहकार्य र स्थानीय नेपाली उद्यमी, व्यवसायी तथा संघसंस्था लगायतको सहभागितामा न्यूयोर्कमा “नेपाली उत्पादन, मौलिक परिकार तथा पर्यटन प्रवर्द्धनमा गैरआवासीय नेपाली समुदाय/व्यवसायीको भूमिका”विषयक अन्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

एनआरएनए–न्यूयोर्क च्याप्टरका तर्फबाट उपाध्यक्ष शोभाकान्त पाण्डेले अतिथिलाई स्वागत गर्दै महत्वपूर्ण विषयको कार्यक्रममा नेपाली महावाणिज्य दूतावाससँग सहकार्य गर्न पाउँदा खुसी लागेको विचार व्यक्त गरे । उनले गैरआवासीय नेपालीको मातृभूमीसँग निकट र भावनात्मक सम्बन्ध रहेको र नेपाल सरकारले देशको आर्थिक सम्वृद्धिका लागि एवम् नेपाली बस्तु निर्यात तथा पर्यटन प्रर्वधनका लागि चालेका कदममा गैरआवासीय नेपाली समुदायको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यवाहक महावाणिज्यदूत बिष्णु गौतमले अतिथिलाई स्वागत गर्दै सहभागिताका लागि धन्यबाद दिए । नेपाल र अमेरिकाबीच रहेको मैत्रीपूर्ण र सुमधुर कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ पार्न जनस्तर र व्यवसायस्तरका सम्बन्धको महत्वपूर्ण भूमिका हुने विचार राखे । दुई देशबीचको कूटनीतिक सम्बन्धको पचहत्तरौं वार्षिकोत्सबको प्रसँग उठाउँदै उनले नेपाल र अमेरिकाबीचको व्यापार, पर्यटन, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान अझ वृद्धि गर्न नेपाली व्यवसायी, शैक्षिक संस्था, नेपालका मित्र अमेरिकी नागरिक, पर्यटक, तथा गैरआवासीय नेपाली समुदायको सञ्जाल निकै प्रभावकारी हुन सक्ने विचार राखे ।

विदेशमा रहेका नेपाली समुदायले हासिल गरेको ज्ञान, शीप पूँजी, एवम् प्रविधिबाट नेपालले अझबढी लाभ लिन सबैको प्रयास आवश्यक हुने उनले धारणा राखे । कार्यवाहक महावाणिज्यदूतले आफ्नो प्रस्तुतीमा नेपाल र अमेरिकाबीचको व्यापारमा दुवै देशलाई लाभ हुनेगरी उच्च वृद्धि सम्भव रहेको र यसकालागि थप बजारीकरण जरुरी रहेको बताउँदै दुईपक्षीय व्यापारको अवस्था, अमेरिका निर्यात भइरहेका र उच्च संभावना भएका नेपाली बस्तु र ती बस्तुले अमेरिकी बजारमा प्रवेशमा पाउने सुविधाबारे जानकारी दिए ।

अमेरिकामा नेपाली परिकार र पर्यटन प्रर्वधनमा संलग्न व्यवसायीले खेलेको भूमिकाको प्रसंसा गर्दै उनले बढ्दो नेपाली समुदाय र विस्तारित सञ्जालबाट संख्यात्मक र गुणात्मक दुवै रुपमा नेपालको प्रर्वधनमा अझबढी योगदानका लागि नेपाली समुदायलाई आग्रह गरे ।

अमेरिकामा विभिन्न नेपाली बस्तुको आयात, बजारीकरण, विक्रिवितरण, तथा पर्यटन र परिकार प्रर्वधनमा सक्रिय सर्व अनिल रौनियार, लिंकन एभरेष्ट, सुमित अग्रवाल, निश्चल बाँस्कोटा, दुर्गेशजंग कार्की, मनीष कर्ण रसाङ्गदोर्जे शेर्पा गरी ७ जना व्यवसायीद्वारा प्रस्तुतीकरण गरिएको थियो ।

प्रस्तुतीकरणमा नेपालको प्रर्वधनका लागि आ–आफ्ना तर्फबाट भइरहेका प्रयास, अवसर र चुनौती तथा नेपालमा स्थानीय स्तरमा उत्पादित बस्तुदेखी लिएर अन्य बस्तु निर्यात सञ्जालमा जोड्न, जिएसपी नवीकरण, भन्सार सुविधा, बजारीकरण र नेपाली बस्तुको गुणस्तर कायम राख्न नेपाल सरकारको सहयोग आवश्यक रहेको धारणा व्यवसायीले राखे ।

नेपाली संघसंस्था तथासञ्चार जगतका सहभागीले विभिन्न सुझावसहित नेपाल सरकारको प्रयासमा आफ्नो सदैव साथ रहने कुरा व्यक्त गरे । कार्यक्रमको अन्तमा कार्यवाहक महावाणिज्यदूत र सम्बन्धित व्यवसायीद्वारा उठाइएका जिज्ञासाको जवाफ एवम् जानकारी दिइएको थियो ।

कार्यक्रमको सञ्चालन र मोडेरेशन वाणिज्यदूत गणेश अधिकारीले गरेका थिए भने कार्यक्रमको अन्त्यमा आमन्त्रित अतिथिका लागि नेपाली परिकारसहितको दिवा भोजको व्यवस्था गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?