समानुपातिक सांसद चयनको टुंगो लगाउँदै कांग्रेस, एमाले र जसपा

लोकपथ
70
Shares

काठमाडौं । समानुपातिक सांसद चयन गर्न कांग्रेस, एमाले र जसपाले बैठक बोलाएका छन् । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय र जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनपछि पहिलोपटक शनिबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठकमा कांग्रेसले समानुपातिकतर्फ प्राप्त ३२ सांसदमा क–कसलाई पठाउने भन्नेबारे निर्णय गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसलाई निर्वाचन आयोगले २९ जना महिला र तीन जना पुरुष सांसद पठाउन सूचित गरेको छ। यस्तै, प्रदेश सांसदबारे पनि सोही बैठकले निर्णय गर्ने भएको छ। कांग्रेसले प्रदेशमा १११ सिट पाएको छ ।

यस्तै, एमाले केन्द्रीय सचिवालय बैठक आज (शनिबार)का लागि सरेको थियो। एमाले अध्यक्ष केपी ओलीले शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको थियो । तर, ओलीको कार्यव्यस्तताका कारण एमाले बैठक आज (शनिबार) का लागि सरेको हो ।

पदाधिकारी उपस्थित रहने सो बैठक शनिबार बस्ने तय भएको छ। एमालेले ३४ सिट पाएको छ । जसमा उसले १५ पुरुष र बाँकी महिला सांसद पठाउनुपर्ने छ । एमालेले प्रदेशमा ९१ सिट पाएको छ ।

यस्तै, जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिएका छन् । बैठकले समानुपातिकतर्फका सांसदबारे निर्णय गर्ने भएको छ। जसपाले समानुपातिकमा पाँच जना पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?