भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

लोकपथ
26
Shares

चितवन । भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो । यात्रुको चाप हुने यो विमानस्थल विस्तारका लागिसमेत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणले टर्मिनल भवनका लागि बोलपत्र आह्वान गरी प्राविधिक मूल्याङ्कनको क्रममा छ ।

प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाका अनुसार ६ वटा कम्पनीको बोलपत्र पेस भएको छ । ती प्रस्तावको प्राविधिक मूल्याङ्कनपछि आर्थिक प्रस्तावबाट अन्तिम टुङ्गो लगाएर सम्झौता गरिने छ । उनको भनाइमा पुस महिनाका अन्तिम सातासम्ममा सम्झौता भइसक्छ । बोलपत्रको रकम रु दुई अर्बको हाराहारी रहेको भन्दै उहाँले एकिन रकम आर्थिक प्रस्तावपछि थाहा हुने बताए । तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी सम्झौता गरिने छ ।

अत्याधुनिक किसिमको ७ हजार सात सय ४९ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गरिने छ । यससँगै टावर हुनेछ । विमानस्थलको धावन मार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको हो । नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गरी विमानस्थलको धावन मार्ग विस्तार गर्ने योजना रहेको छ ।

नेपाली सेनासँग प्राधिकरण छलफलमा रहेको थापाले जानकारी दिए । उनले भने, ‘ ‘विमानस्थलको धावनमार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको हो ।’ हाल धावनमार्गको उडान र अवतरण हुने क्षेत्रमा अग्ला घर भएका कारण जहाजले कम यात्रु मात्रै बोक्ने गरेका छन् ।

धावनमार्ग विस्तारसँगै ठूला जहाज उडान गर्न सकिने र रात्रिकालीन उडानसमेत हुनेछन् । भरतपुर महानगरपालिकाले यो विमानस्थललाई विस्तार गर्न पटक–पटक महानगरपालिकामै छलफल गरिसकेको छ । महानगर प्रमुख रेनु दाहालले प्राधिकरण र नेपाली सेना सकारात्मक रहेकाले विमानस्थल विस्तारको काम हुनेमा आफू ढुक्क रहेको बताए ।

नेपाली सेनालाई वैकल्पिक ठाउँको व्यवस्था महानगरले गर्नका लागि विभिन्न ठाउँ प्रस्तावसमेत गरिसकेको छ । छोटो धावन मार्ग र वरिपरि घर भएकाले दुर्घटना हुन नपाओस् भन्नका लागि धावनमार्ग विस्तार गर्न सरोकारवालाले निरन्तर दबाब दिँदै आएका छन् । यहाँबाट काठमाडौँ, पोखरा र भैरहवा उडान हुँदै आएको छ । हाल बुद्ध र गुण एयरले दैनिक १० हाराहारी उडान गर्दै आएका छन् । सन् २०२१ मा यहाँबाट आवतजावत गर्नेको सङ्ख्या ११ लाख ७६ हजार थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?