कर्तव्यनिष्ट भएर काम गर्न प्रहरी महानिरीक्षक सिंहको आग्रह

लोकपथ
39
Shares

सोलुखुम्बु । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले कर्तव्यनिष्ट भएर काम गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आज निरीक्षणका क्रममा उनले कार्यरत प्रहरी अधिकृत तथा जवानलाई नियमावलीमा भएका व्यवस्थालाई कडाइका साथ पालना गर्दै कर्तव्यनिष्ट भएर काम गर्न निर्देशन दिएका हुन् ।

व्यक्तिगत लाभभन्दा सङ्गठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी इमान्दार, अनुशासित र उत्तरदायी तबरबाट पूरा गर्नुपर्नेमा प्रहरी महानिरीक्षक सिंहले जोड दिए । प्रहरी राज्यको अङ्ग भएकाले त्यसको सही कार्य सम्पादनबाट नागरिकले न्याय पाउने उनको भनाइ छ ।

प्रहरी महानिरीक्षक सिंहले पर्यटकीय जिल्ला सोलुखुम्बुमा भ्रमणका लागि आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आवागमनलाई सहज बनाउन पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनाउन निर्देशन दिए । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको निरीक्षण पश्चात् सिंह यहाँ आएका हुन् । फाप्लुबाट हेलिकप्टरमा लुक्ला हुँदै उनी आजै काठमाडौं फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?