ब्राजिलले विश्वकप जित्छ : भरत खवास

बच्चैदेखि ब्राजिलको फ्यान

विश्वको ध्यान यतिबेला फुटबलको महामेलातिर छ । आजबाट नकआउट चरणको खेल सिध्याएर क्वाटर फाइनलतर्फ उक्लँदै गरेको विश्वकपले सामान्य नागरिकदेखि सेलिब्रिटी छबी बनाएका मानिसहरुसमेत ध्यान खिचिरहेको छ । अझ, फुटबलमै जीवन बनाइरहेकाहरुका लागि त यो विशेष चाडजस्तै भइहाल्यो ।

हो, यही चाडलाई सेलिब्रेसन गरिरहेका छन्– फुटबलर भरत खवासले पनि । त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान एवम् नेपाली राष्ट्रिय फुटबल टिमका फर्वाडसमेत रहेका खवासको मन पर्ने टिम भने ब्राजिल हो । खवासले जबदेखि टेलिभिजनका स्क्रिनमा विश्वकप फुटबलमाथि आँखा दौडाउन थाले त्यहीबेलादेखि हो, उनले ब्राजिललाई समर्थन गर्न थालेको ।

१९९८ देखि विश्वकपमा नजर

१९९८ मा विश्वकप आयोजना गर्ने अवसर फ्रान्सले पाएको थियो । फ्रान्सलाई घरेलु मैदान फाप्यो, उसो त उपाधि अन्य देशलाई लैजान दिएन । यता खवास भने भर्खरै कक्षा ९ मा पढ्दै थिए । सानैदेखि फुटबलमा रुचि राख्ने भएर पनि होला उनलाई त्यतिबेला फ्रान्स विश्वकपको ट्रफी उचालेको परिदृश्य अझै ताजा छन् । ‘फाइनलमा ब्राजिल र फ्रान्स भिडेका थिए,’ खवासले सम्झिए, ‘ब्राजिलले फाइनलमा फ्रान्ससँग ३ गोल खाएको थियो ।’ यद्यपि, फाइनल खेल अघि नै ब्राजिलले खवासको मन जितिसकेको थियो ।

यसपछि भएको २००२ बाट राम्रोसँग विश्वकप फुटबल हेरेका खवासले आजसम्म ब्राजिललाई नै समर्थन गरिरहेका छन् । ब्राजिलको खेल्ने शैलीले खवासलाई सधैं मोहित बनायो । ‘ब्राजिलमात्रै एउटा यस्तो देश हो जसले १९३० मा आयोजना भएको पहिलो विश्वकपदेखि २२ औं संस्करणको कतारसम्म आइपुग्दा प्रत्येक पटक विश्वकपमा क्वालिफाएर हुँदै आएको छ,’ उनले भने, ‘यही कुराले पनि म ब्राजिलको डाइहार्ड फ्यान भएँ ।’

साथै, ५ पटक उपाधिलाई आफ्ना पोल्टामा पारेका कारण पनि ब्राजिलले धेरैको मन खिचेको छ । यद्यपि, खवासलाई भने ब्राजिलियन टिमको फर्मेसन र उनीहरुको गेम प्ले लगायतका कारणले सधैं बलियो लाग्छ । त्यस्तै ब्राजिलको स्क्वाडमा भएका सबै खेलाडीहरु विश्वका टप ५ क्लबहरुमा आवद्ध भएका छन् । भिनिसियस, नेयमार, कासमिरो टि सिल्भा, रिचार्लिसन डे एण्ड्रे जस्ता खेलाडी टिममा रहेकाले पनि उनलाई ब्राजिल नै विश्वकपको बलियो दाबेदार भन्न रुचाउँछन् ।

विश्वकपलाई समय

यसपालीको खेल शुरु हुने समयका कारण भने सबै खेललाई हेर्न नभ्याएको खवास सुनाउँछन् । ‘विश्वकप शुरु नहुँदैदेखि नै कस्तो हुन्छ होला भन्ने कौतुहलता थियो,’ खवास लोकपथसँग फुटबल दर्शकको अनुभव साट्दै थिए, ‘शुरु भएदेखि नै विश्वकपका मेजर खेलहरु छुटाएको छैन । तर, कहिलेकाँही भने खेलको समयमा अफिस समयमा हुने र कहिले आफू बाहिर हुने हुँदा प्राय खेल छुट्यो ।’

त्यतिमात्र कहाँ हो र, नेपाली सेनामा आवद्ध खवास पछिल्ला दिनमा अभ्यासमा समेत व्यस्त छन् । पुसबाट लिग शुरु हुने चर्चासँगै उनले आफ्नो अभ्यासलाई तिव्रता दिएका हुन् । उसो त विश्वकप हेर्ने समय यही अभ्यासले समेत विथोलेको उनी सुनाउँछन् ।

विश्वकपमा यस्तो छ खवासको अनुमान

तैपनि, नेपाली मैदानमा अभ्यास गरिरहँदा पनि उनको ध्यान भने विश्वकपले खिचिरहेको छ । विश्वकपमा नकआउट चरणको खेल भइरहेको बेला ब्राजिलले छैटौंपटक चुम्नेमा उनी ढुक्क छन् ।

उनका अनुसार क्वाटर फाइनलमा नेदरल्याण्ड र अर्जेन्टिनाबिचको खेलमा अर्जेन्टिना विजयी हुने उनको अनुमान छ । अर्काे खेलमा क्रोयसिया र ब्राजिलमा ब्राजिल विजयी हुने उनले प्रेडिक्ट गरेका छन् ।

त्यस्तै, इंग्ल्याण्ड र फ्रान्समा फ्रान्स र स्पेन र पोर्चुगलमा स्पेनले खेल जित्ने उनको अनुमान छ । खवासका अनुसार सेमीफाइनलमा अर्जेन्टिना र ब्राजिलले भिड्ने छन् र उक्त खेलबाट अर्जेन्टिनालाई हराउँदै ब्राजिलले फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ । त्यस्तै सेमिफाइनलको अर्कको खेलमा स्पेनलाई हराएर फ्रान्सले फाइनलमा ब्राजिलको सामना गर्ने अनुमान गरेका छन् ।

फाइनल के होला ?

उनका अनुसार फाइनलमा ब्राजिल र फ्रान्स भिड्ने छन् र ब्राजिलले छैटौं पटक विश्वकपको उपाधि उचाल्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?