प्रदेश–१ मा प्रवाहित कुल कर्जा मध्ये कृषि कर्जाको हिस्सा १० प्रतिशत

लोकपथ
0
Shares

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुले प्रदेश नम्बर १ मा प्रवाह गरेको कुल कर्जा मध्ये १० प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन सम्बन्धी प्रदेश नम्बर १ को वार्षिक प्रतिवेदन २०७८/७९ अनुसार २०७९ असार मसान्तसम्ममा प्रदेश नम्बर १ मा प्रवाहित कुल कर्जा प्रवाह मध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १० प्रतिशत देखिएको हो ।

राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जाको अंश नौ दशमलव छ प्रतिशत रहेको थियो । २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट प्रदेश नम्बर १ को कृषि क्षेत्रमा प्रवाहित कर्जा १७ दशमलव आठ प्रतिशतले वृद्धि भई ५४ अर्ब ५२ करोड पुगेको छ । २०७८ असार मसान्तसम्म यस क्षेत्रमा प्रवाह भएको कुल कर्जा ४६ अर्ब २९ करोड रहेको थियो । राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तसम्म कृषि कर्जाका विभिन्न शीर्षक मध्ये अन्य कृषि तथा कृषिजन्य सेवामा २५ दशमलव एक प्रतिशत, पशुपालनमा २४ दशमलव पाँच प्रतिशत, अन्नबालीमा १८ दशमलव तीन प्रतिशत, पंक्षीपालनमा सात दशमलव सात प्रतिशत र तरकारी बाली उत्पादनमा पाँच दशमलव छ प्रतिशत कर्जा प्रवाह भएको छ ।

राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न शीर्षकहरुमा जिल्लागतरुपमा प्रवाहित कर्जामध्ये मोरङ जिल्लामा सबैभन्दा बढी १६ अर्ब ९६ करोड रुपैयाँ अर्थात ३१ दशमलव एक प्रतिशत कर्जा प्रवाह भएको छ । यस अवधिमा सबै भन्दा कम भने सोलुखुम्बु जिल्लामा प्रवाह भएको छ । उक्त जिल्लामा कुल कर्जा रकमको शुन्य छ दशमलव प्रतिशत अर्थात ३५ करोड रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ । प्रदेश नम्बर १ मा ताप्लेजुङ, सोलखुम्बु, तेह्रथुम, खोटाङ, भोजपुर, ओखलढुंगा, संखुवासभा, पाँचथर, धनकुटा, इलाम, उदयपुर, सुनसरी, झापा र मोरङसहितका १४ वटा जिल्लाहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?