सडक मिचेका संरचना हटाउन निर्देशन

लोकपथ
13
Shares

दाङ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दाङले मङ्गलबारदेखि लागू हुनेगरी १५ दिने सूचना जारी गरी राजमार्गको सडक क्षेत्र मिचेर बनाएका संरचना हटाउन निर्देशन गरेको हो ।

दाङ खण्डको धानखोलादेखि शिवखोलासम्मको सडक क्षेत्र दायाँबाँया ३१/३१ मिटरभित्रका संरचना हटाउन निर्देशन गरिएको सूचना अधिकारी रिकेश महर्जनले जानकारी दिए । उनका अनुसार पुस १५ भित्र नहटाएमा आफै हटाउने समेत तयारी छ । साथै हटाउन लागेको खर्चसमेत सडक मिच्नेले नै व्यहोर्नुपर्ने सूचनामा उल्लेख छ ।

राजमार्गको दाङ खण्ड करिब ७७ किलोमिटर छ । कार्यालयले सोही क्षेत्रका तीन पालिकालाई पनि यो सूचना प्रकाशन गरिदिन अनुरोध गरेको छ । लमही नगरपालिकासहित राप्ती र गढवा गाउँपालिकालाई पत्र लेख्दै सबै वडाको सूचना पार्टीमा यो सूचना टाँस गर्न पत्र पठाएको डिभिजन प्रमुख इञ्जिनियर रामपुकार जैसवालले बताए ।

पटक–पटक सडक मिचेका भन्ने गुनासो पनि आएको र दुर्घटनाको पनि जोखिम रहेकाले सडक क्षेत्र खाली गर्न निर्देशन दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?