नबिल बैंकलाई एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’ मा सदस्यता प्रदान

लोकपथ
13
Shares

काठमाडौं । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’ अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको जानकारी दिएको छ । एक्जिम बैंकबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो र एकमात्र बैंक हो ।

एक्जिम बैंकले सूक्ष्म जोखिम समीक्षापछि नबिल बैंकलाई व्यापार सहायता अन्तर्गत सदस्यता प्रदान गरेको हो । यो सम्झौताले नेपाल र भारतबीच बढ्दो व्यापारलाई सहज बनाउने, नेपाल र भारतबीचको बढ्दो आर्थिक संलग्नतालाई सुदृढ गर्ने, आयात निर्यातलाई सहजीकरण गरी अवसर खोल्ने नबिल बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो सुविधा अन्तर्गत एक्जिम बैंकले नबिल बैंकको भुक्तानी दायित्वको समर्थनमा भारतमा लेटर अफ क्रेडिट स्वीकार गर्न पेमेन्ट ग्यारेन्टी जारी गर्नेछ । यसले गर्दा पछिल्लो समयमा बढ्दै गएको वैदेशिक साख जोखिम र सिमित पहुँचलाई सहजीकरण गर्न टेवा पुग्ने र वित्तीय संस्थाहरुको क्षमता अभिवृद्धि गरी सीमापार व्यापारसम्बन्धी कारोबारहरुलाई सहज गर्ने छ ।

नेपालको व्यापारलाई अन्तर्राष्ट्रियकरण र सहजीकरणका लागि नबिल बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रयास गर्दै आएको छ । यस व्यापार सहायता कार्यक्रम अन्तर्गत एक्जिम बैंकसँगको नबिल बैंकको साझेदारीले नेपाली बैंकिङ क्षेत्रको अन्तर्राष्ट्रियकरणतर्फको कोशेढुंगा सावित हुने नबिल बैंकले जनाएको छ ।

एक्जिम बैंक आयात–निर्यात वित्तपोषणमा संलग्न संस्थाहरुको कामको समन्वय गर्ने भारत सरकारको मुख्य वित्तीय संस्था हो । भारतको अन्तर्राष्ट्रिय व्यापार र लगानीलाई प्रवद्र्धन, वित्तपोषण र सहजीकरण गरेर विश्व अर्थतन्त्रसँग भारतको पहुँच सहज बनाउन वर्षौंदेखि एक्जिम बैंकले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?