कतार विश्वकप : समूह चरणका खेलमा देखिएका रोचक दृश्य

राजकुमारीको खेलाडीसँगको क्रस

लोकपथ
364
Shares

विश्वकप फुटबलको २२ औँ संस्करण यतिबेला कतारमा चलिरहेको छ । समूह चरणको खेल सकिएर हाल नकआउट चरणका खेलहरु भइरहेका छन् । यहाँसम्म आइपुग्दा यसपाली विश्वकपमा केही अनपेक्षित नतिजासमेत देखिए । जसले विश्व फुटबल जगतमै हलचल मच्चायो ।

उपाधि दाबेदार टोली जर्मन विश्वकपको समूह चरणबाटै बाहिरिएको छ भने जापान र कोरिया नकआउट चरणसम्म पुगेका छन् । खेलाडीहरुले किर्तिमानी बनाएका छन् । समूह चरणको पहिलो खेलमै अर्जेन्टिनाले हारको सामना गर्नु परेको देखि राजकुमारीको खेलाडीसँगको क्रस सम्मका रोचक किस्साहरु छन् ।

समूह चरणको खेलका रोचक तथ्य : 

कतार

२२ औं संस्करणको विश्वकपको आयोजना गर्ने मौका पाएको कतारले उद्घाटन खेलमा आफ्नो शाख जोगाउन सकेन । त्यति मात्रै होइन कतार समूह चरणको सबै खेलमा पाराजित हुने पहिलो आयोजक राष्ट्र बन्यो । कतार उद्घाटन खेलमै इक्वेडरसँग २–० गोल अन्तरले पराजित भयो ।

त्यस्तै दोस्रो खेलमा सेनेगलसँग ३–१ गेल अन्तरले स्तब्ध बन्यो । आफ्नो अन्तिम खेलमा पनि कतार नेदरल्यान्ड्ससँग २–० गोल अन्तरले पराजित भयो । १९३० बाट शुरु भएको विश्वकपको इतिहासमा कतारमात्र एउटा देश बन्यो, जो आयोजक राष्ट्रले नै उद्घाटन खेलमा पराजय भोग्नुपर्यो ।

साउदी अरेबियासँग अर्जेन्टिना पराजित

समूह चरणकै पहिलो खेलमा साउदी अरेबियाले उपाधि दाबेदार मानिएको अर्जेन्टिना पराजित गर्दै इतिहास बनायो । साउदीले अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

फिफा वरियताअनुसार ५३ औँ स्थानमा रहेको साउदी अरेबियाले तेस्रो स्थानमा रहेको अर्जेन्टिनालाई पराजित गरेको थियो । यो नतिजाले फुटबल जगतमा तरंग ल्याएको थियो । हाल अर्जेन्टिनाले क्वाटर फाइनलमा आफ्नो स्थान बनाइसकेको छ ।

क्रिस्टियानो रोनाल्डो

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डाले घानाविरुद्ध गोल गरेसँगै उनी लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले २००६, २०१०, २०१४, २०१८ र २०२२ को विश्वकपमा गोल गर्दै यो रेकर्ड बनाएका हुन् ।

लियोनल मेसी

लियोनल मेसी अर्जेन्टिनाको लागि चार विश्वकपमा गोल गर्ने खेलाडी बनेका छन् । उनले यसअघि २००६, २०१४ र २०१८ मा गोल गरेका थिए ।

उनले साउदी अरेबियाविरुद्ध पेनाल्टीमार्फत गोल गरेका थिए । गोल गरेसँगै उनले डिएगो म्याराडोना र ग्रबियल बाटिस्टुटाको रेकर्ड तोडेका छन् ।

ब्राजिललाई हराउने पहिलो अफ्रिकी मूलुक क्यामरुन

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा अफ्रिकी मुलुक क्यामरुनले नयाँ इतिहास बनाएको छ ।

पाँचपटक विश्वकप फुटबलको उपाधि जितेको ब्राजिललाई क्यामरुनले शून्यका विरुद्ध एक गोलले हराएर नयाँ इतिहास रचना गरेको हो । ब्राजिलसँगको खेलमा शानदार जित निकालेको क्यामरुन समूह चरणको खेलबाट बाहिरिएको छ ।

थप समय नै २७ मिनेट

कतार विश्वकपका हालसम्मका खेलमा ५ सय मिनेटभन्दा बढी अतिरिक्त समय थप भइसकेको छ ।

जसमा इङ्गल्याण्ड र इरान विरुद्धको खेलमा कुल २७ मिनेट १६ सेकेण्डको समय थप गरिएको थियो । यो विश्वकप इतिहासकै सबैभन्दा बढी थपिएको समय हो ।

दाजुभाई नै विश्वकपमा

घानाका इनाकी विलियम्स र स्पेनका निको विलियम्स् साक्य दाजुभाई हुन् । सहोदर दाजुभाई भएपनि उनीहरुले फरक–फरक देशबाट कतार विश्वकपअन्र्तगत नोभेम्बर २४ मा भएको खेल खेलेका थिए ।

विश्वकपको इतिहासमा यो अनौठो संयोग हो । यी दुई दाजुभाईले नोभेम्बर २४ मा फरक राष्ट्रबाट खेले ।

महिला रेफ्री

२२ औं संस्करणको विश्वकपमा देखिएको फरक दृश्यमध्ये महिला रेफ्रि पनि एक हो । फिफा विश्वकपको इतिहासमा यो पहिलो प्रयोग हो ।

जर्मनी र कोस्टारिकाबीचको खेलमा महिला रेफ्रीले निर्णायकको जिम्मेवारी लिएर इतिहास रचेकी छिन् । फ्रान्सकी स्टेफनी फ्रापार्टले पुरुष विश्वकप खेलाइन् । त्यस्तै, उनलाई सहायक रेफ्रीहरू ब्राजिलकी नेउजा ब्याक र मेक्सिकोकी करेन डियाजले साथ दिएका थिए ।

१८ वर्षमै गोल, राजकुमारीको क्रस

स्पेनका गाभीले १८ वर्षको उमेरमा कोस्टरिकाविरुद्ध गोल गरेका छन् गाभी विश्वकपमा गोल गर्ने स्पेनकै सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।

उनले गोल गरेसँगै स्पेनको राजकुमारीले गाभी आफ्नो क्रस भएको बताएकी छिन् । उक्त समाचार अहिले विभिन्न सञ्चार माध्यमहरुको हेडलाइन बनेका छन् ।

गोलकिपरलाई रेडकार्ड

वेल्सका गोलरक्षक वेन हेनसीले कतार विश्वकपमा पहिलो रातो कार्ड पाए । उनले इरानविरुद्धको खेलमा सिधा रातो कार्ड पाएका हुन् । फिफा विश्वकपको इतिहासमा रातो कार्ड खाने उनी तेस्रो गोलरक्षक हुन् ।

सन् १९९४ मा इटालीका ग्यानलिक्भा प्यागलिभा र २०१० मा साउथ अफ्रिकाका इट्मेलिगन खुनेले रातो कार्ड पाएका थिए ।

खेलको दोस्रो मिनेटमै गोल

क्यानडाका अलफोन्सो डेभिसले क्रोएसियाविरुद्धको खेलको २ मिनेटमै गोल गरेका छन् । २०२२ विश्वकपमा समूह चरणको खेलमा सबैभन्दा छिटो गरिएको गोल यही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?