तितरबितर संस्थापन ‘इतर’ : प्रधानमन्त्री बन्न गगनलाई कति सहज ?

सत्तारोहणको आकांक्षा हरेक राजनीतिज्ञमा हुन्छ । बहुदल आएपछि एकै अनुहार निरन्तर सत्ताको वरिपरि छन् ।

राजनीतिक संघर्ष बाहेक राणाविरुद्धको क्रान्तिदेखि व्यवस्था परिवर्तनका लागि राजासँग पौठेजोरीको ब्याज नै नेताहरुको सत्तामा जाने मुख्य आधार बनेको छ ।

२०४८ को आम निर्वाचनबाट सत्तामा गएकाहरु अझै सत्ताकै वरिपरि घुमिरहेका छन् । अझै पनि उनीहरुले छाड्ने लक्षण छैन । चरम लालशा तिनैमा देखिन्छ । पुस्तान्तरण भन्दा पनि ब्याज खाने प्रवृत्तिले राजनीतिमा एक पुस्ता नै हराउने अवस्था सृजना भएको छ ।

मंसिर ४ को निर्वाचनले संसदमा नयाँ अनुहारलाई प्रवेश दिएसँगै मतदाता र आम मानिसमा केही आशा भने सञ्चार भएको छ । तर, सरकारको नेतृत्वमा पुरानै अनुहार दोहोरिने चर्चाले भने परिवर्तनको चाह राख्नेहरु निराश बन्ने अवस्था आएको छ ।

यस अघिका निर्वाचनबाट संसदमा धेरै युवा पुगेपनि नेतृत्वका लागि कोही तयार भएनन् । अघिल्लो पुस्तासँग नेतृत्व खोसेर ‘ड्राइभिङ सिट’ मा बस्न युवा पुस्ताले तदारुकता नदेखाएकै कारण सत्ताको केन्द्रमा पुरानै पुस्ताका नेताहरुको हालिमुहाली चलिरह्यो । पार्टीका संस्थापक नेताहरुसँग विद्रोह गरेर आफ्नो पुस्तामा नेतृत्व सारेका हालका केन्द्रीय नेताहरुले पुस्तान्तरण गर्न चाहेनन् ।

तर अब भने अघिल्ला पुस्तालाई अभिभावकीय भूमिकामा राखेर आफूहरु अघि सर्ने केही युवाको जमर्कोले राजनीतिक परिदृष्यमा रोचकता थपिएको छ । यसका लागि तयारी तीब्र बनाउनेमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा अग्रभागमा देखिएका छन् ।

निर्वाचनअघि नै प्रधानमन्त्रीका लागि पार्टी संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्ने गगनको घोषणाले राजनीतिमा हलचल पैदा ग-यो । केही वर्षदेखि विज्ञहरुको टिमहरुसँग ‘प्रोजेक्ट गभर्मेन्ट’ मा काम गरिरहेका छन् गगन । ०७४ को निर्वाचनपछि पार्टी नराम्ररी खुम्चिएपछि संसदमा प्रतिपक्षको दरिलो आवाज बनेर गर्जिँदै आफ्नो काममा लागे ।

‘प्रोजेक्ट गभर्मेन्ट’सहित केही वर्षदेखि अर्थशास्त्रको समेत अध्ययन गरिरहेका छन् उनी । पटकपटक सांसद, एक पटक मन्त्री र संसदका विभिन्न समितिमा बसेर काम गरेको अनुभवसहित पुस्तान्तरण, प्रोजेक्ट गभर्मेन्ट लगायतका विषय नै प्रधानमन्त्रीको दाबीको मुख्य आधार उनले पेश गरेका छन् ।

उमेरले ४६ वर्ष पुगेका उनको चुनाव अगाडिको उद्घोषलाई धेरैले निर्वाचन जित्ने प्रपन्च मात्रै भन्ने बुझे । ०७० र ०७४ को निर्वाचनमा सांसद बन्न मात्रै मत मागेका गगनले गत निर्वाचनमा भने प्रधानमन्त्रीको उम्मेदवारका रुपमा मत मागे ।

स्थानीय निर्वाचनमा उनको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं ४ मा कांग्रेस कमजोर रहेकाले विपक्षीहरुले त्यसलाई चुनाव जित्ने रणनीति भन्दै मसला बनाए ।

प्रधानमन्त्रीको दाबीले निर्वाचनमा समेत केही धक्का पुग्न सक्ने धेरैको आंकलन थियो । तर निर्वाचनमा पाएको उत्साहजनक मतले प्रधानमन्त्रीको दाबीलाई थप बलियो बनाएको छ । उनले जितको खुशी मनाइरहँदा भने केही आरोप उनीमाथि लाग्यो । राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर आफू जितेको र केही नेतालाई असहयोग गरेको आरोप उनीमाथि लगाइएको छ ।

अर्को आरोप भाषण कलामा पोख्त गगन अघिल्ला निर्वाचनहरुमा जस्तो देशभरका वा काठमाडौंकै पनि अन्य निर्वाचन क्षेत्रमा पुगेर मत मागेनन् । हरेक व्यक्तिलाई बोलीले प्रभाव पार्न सक्ने खुबिका गगन यसपाली आफू र आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित भएको धेरैको गुनासो र आरोप छ । जसको असर संसदीय दलको निर्वाचनमा पर्ने देखिन्छ ।

यता संसदीय दलको नेतामा गगनले उम्मेदवारी दिने निर्णयलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले सगौरव स्वीकार गरेसँगै उनको दाबी बलियो भने बनेको छ । तर अघिल्ला पुस्ताका नेताहरुले गगनको दाबीलाई भने त्यति गम्भीरतापूर्वक लिएका छैनन् । असफल हुन्छु भन्दाभन्दै पनि जोखिम मोलेर काम गर्न मन पराउने गगनको हठीपन मात्रै भएको भन्दै धेरैले त्यति चासो नदिएका हुन् । तर, संसदीय दलको नेतामा बहुमत पु-याउने उनको कसरत जारी छ ।

आफ्ना पक्षका केही व्यक्तिलाई टिकट दिलाउन निर्वाचन क्षेत्रसमेत छोड्न तयार भएका गगन पार्टीभित्रै लोकतन्त्र खोज्नेहरुसँगको भेटलाई तीव्रता दिएका छन् । तर पुस्तान्तरण र रुपान्तरणको बहस गर्नेहरुबाटै गगनले संसदीय दलको नेतामा धोका पाउने हो कि भन्ने आशंका छ । गत मंसिरमा सम्पन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा गगनको टिमले पाएको धोकाले पनि त्यो कुरालाई पुष्टि गर्छ ।

पार्टी र सरकारमा रुपान्तरण चाहनेहरुको परीक्षाको घडी आएको दाबी गरिरहेका उनी नेताहरुको बोली र व्यवहारको तादाम्यता मिल्छ या मिल्दैन हेर्दैछन् । राजनीतिक जीवन नै चुनौती छिचोल्दै अगाडी बढाएका कारण दललाई नेताबन्दी हुन नदिएर घेराबन्दी तोड्ने कसरत उनको छ ।

आम जनताबाट सकारात्मक प्रतिकृया पाइरहे पनि संसदीय दलको निर्वाचनमा संस्थापन इतरका नेताहरु मिलाउन उनलाई कठिन पर्ने देखिन्छ । तितरबितर भएको संस्थापन इतर एक ठाउँमा नउभिने संकेत नेताहरुको उम्मेदवारी घोषणाबाट देखिन्छ । सबैलाई मिलाएर संस्थापन इतरबाट साझा उम्मेदवार बन्न नसके प्रधानमन्त्री बन्ने गगनको यो पटकको सपना सपना मात्रै नहोला भन्न सकिन्न ।

आफ्नै टिम मिलाउन सकस

पार्टीको १४औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट सर्वसम्मत उम्मेदवार बनाउन इतर समूह सफल भएन ।

महाधिवेशन अघि देउवालाई टक्कर दिन एक ढिक्का भएर लाग्ने भन्ने समूह तितरबितर भएकाले संसदीय दलको निर्वाचनमा उक्त समूह मिलाउन कठिन मात्र होइन महाकठिन पर्ने देखिन्छ ।

संस्थापन इतर समूहबाट सभापतिको दौडमा रहेका रामचन्द्र पौडेल अन्तिममा मैदानबाट बाहिरिए । मौन जस्तो देखिएका उनले अन्तिममा देउवालाई समर्थन गरेर सभापति बनाए । देउवाबाट जसरी पनि सत्ता खोस्ने उद्घोष गरेका प्रकाशमान सिंह अन्ततः आफैँ सभापतिको उम्मेदवार बने र अन्तिममा देउवालाई नै सहयोग गरे ।

डा. शेखर कोइरालालाई सभापति स्वीकारेर गगन महामन्त्रीको उम्मेदवार बन्दै जित हासिल गरे । संस्थापन इतरका अर्का नेता पूर्व महामन्त्री शशांक कोइराला पनि महाधिवेशनमा मौन बस्दै सभापतिमा देउवालाई नै सघाउन पुगे ।

संस्थापन इतरका मुख्य नेताहरु सबैजसोको प्रधानमन्त्रीमा दाबी छ । रामचन्द्र, प्रकाशमान र शशांक आफैँ प्रधानमन्त्रीको लागि योग्य भन्दै हिंडेका छन् । सभापतिमा देउवालाई टक्कर दिएका डा. शेखर कोइरालाले मुख खोलिसकेका छैनन् । तर उनलाई फकाउन देउवाका दूतहरु सक्रिय भएका छन् । सके उनको समर्थन तान्ने नभए आफै उम्मेदवार बन्न प्रेरित गर्ने चाल देउवा पक्षले चालिसकेको छ ।

इतर समूहमा नै सहमति नजुटाई दलको नेता बन्न गगनलाई सजिलो छैन । समूह नै तितरबितर भएकाले सहमति जुट्ने सम्भावना झिनो देखिन्छ ।

विद्यार्थीदेखि पार्टी राजनीतिसम्म गगनको विगत

प्रखर वक्ताको पहिचान बनाएका थापाको जन्म २०३३ सालमा काठमाडौंको प्रसूति गृहमा भएको थियाे। पुख्र्यौली घर सोलुखुम्बु भए पनि उनको बाल्यकाल काठमाडौं र अन्य जिल्लामा बित्यो । उनका पिता नेपाल विद्युत् प्राधिकरणमा इञ्जिनियर भएकाले गगनको बाल्यकाल केही समय सिन्धुपाल्चोकमा बित्यो ।

काठमाडौंको सिद्धार्थ वनस्थली हाइस्कुलमा पढेका गगनको इच्छा डाक्टर, इन्जिनियर बन्ने थियो । तर कक्षा ९ मा पढ्दै गर्दा २०४६ सालको जनआन्दोलनमा उनी सक्रिय भए । काठमाडौंको रातोपुलमा स्थायी रुपमा बस्दै आएका उनको परिवार कांग्रेसको राजनीतिमा भिजेका कारण उनमा पनि राजनीतिक रस पस्न थाल्यो ।

बाल कांग्रेस भएरै काम गरेका उनी त्रिचन्द्र क्याम्पस पढ्न थालेपछि नेपाल विद्यार्थी संघमा काम गर्दै राजनीतिमा अघि बढे । त्रिचन्द्रमा स्ववियु सदस्यदेखि सचिव हुँदै २०५५ मा सभापति बनेपछि उनी राजनीतिबाट पछि फर्किएनन् ।

प्रखर वाककला र दृढ लगनशीलताका कारण नेविसंघमा उनको लोकप्रियता बढ्दै गयो । उनी उपाध्यक्ष हुँदै २०५९ मा नेविसंघको महामन्त्री समेत बने ।

राजाको प्रत्यक्ष शासन कालमा राजाविरुद्ध बोलेको कारण उनी पटक पटक जेल जानुपर्यो । राजाविरुद्ध सडक आन्दोलन गर्दा पटक पटक हिरासत पुगेका उनीमाथि राजद्रोहको मुद्दा समेत लाग्यो ।

०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा समानुपातिबाट सभासद बनेका उनी त्यसयताका निर्वाचनमा काठमाडौं–४ बाट जित्दै आएका छन् ।

पार्टीको १२औंँ महाधिवेशनमा केन्द्रीय सदस्य बनेका उनी १३औँ महाधिवेशनमा महामन्त्री लडे । तर पराजित भए । १४औँ महाधिवेशनबाट महामन्त्री बने ।

दोस्रो संविधान सभाको निर्वाचनपछि जलस्रोत समितिको सभापति हुँदै २०७३ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बखत छोटो समय स्वास्थ्यमन्त्रीको भूमिकामा रहे । छोटै समयमा जनअपेक्षा अनुसार केही काम गरेकाले उनको कार्यकालको अझै पनि चर्चा हुने गरेको छ ।

यसरी तयारीसहित गगनले आफैँमाथि गर्न खोजेको परीक्षणको मार्ग संसदीय दलको नेता बन्न कतिको सफल बन्नेछ हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?