साताको पहिलो कारोबार दिन नेप्सेमा सामान्य अंकको वृद्धि

लोकपथ
39
Shares

काठमाडौं । शेयर बजार परिसूचक (नेप्से)मा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजारमा परिसूचक नेप्से २ दशमलव १६ अंक (०दशमलव११ प्रतिशत)ले वृद्धि हो । योसँगै शेयर बजार १ हजार ९ सय ६३ दशमलव २२ अंकमा पुगेर बन्द भएको छ ।

आज अधिकांश उपसूचकमा वृद्धि भएपनि बैंकिङ, विकास बैंक, वित्त कम्पनी र उत्पादनमुलक उपसूचकमा गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै घट्दा अधिकांश उपसूचक बढेपनि नेप्सेमा सामान्यमात्रै वृद्धि देखिएको छ । आइतवार जीवन बीमा उपसूचक भने १ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा सामान्य वृद्धिहुँदा कारोबार रकम पनि डेढ अर्ब नाघेको छ । ३६ लाख ९४ हजार ८४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५६ करोड १७ लाख २ हजारको कारोबार भएको छ । जसमध्ये नबिल बैंकको सर्वाधिक १९ करोड ८० लाख ६७ हजारको कारोबार हुँदा नेस्डो समृद्धि लघुवित्तको ८ करोड ७७ लाख १५ हजार र फस्ट माइक्रोफाइनान्सको ७ करोड ११ लाख १८ हजारको कारोबार भएको छ ।

नेप्सेमा कुल १ सय ९९ कम्पनीको शेयर कारोबार हुँदा ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने ८९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १३ कम्पनीको शेयर मूल्य स्थिर छ । धौलागिरी लघुवित्तको सेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा ओरियन्टल होटलको शेयर मूल्य ६ दशमलव ५७ प्रतिशत र खप्तड लघुवित्तको शेयर मूल्य ६ दशमलव ०७ प्रतिशतले बढेको छ ।

यता नेस्डो लघुवित्तको शेयर मूल्य ६ दशमलव ११ प्रतिशतले गिरावटहुँदा नबिल बैंकको ३ दशमलव ४० प्रतिशतले गिरावट भएको छ । यस्तै, पोखरा फाइनान्सको शेयर मूल्य २ दशमलव ८३ प्रतिशतले गिरावट भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?