अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश

लोकपथ
78
Shares

काठमाडौं । नेदरल्यान्ड्स फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिवार सम्पन्न अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३–१ ले पराजित गर्दै डच टोली अन्तिम ८ मा प्रवेश गर्न सफल भएको हो ।

खलिफा रंगशालामा पहिलो हाफमै २–० को अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा गोल खाएपनि अमेरिकालाई जम्न दिएन । मेम्फिस डिपाएसँगै विंगब्याकद्वय डेली ब्लिन्ड र डेन्जेल डम्फ्रिजले नेदरल्यान्ड्सको जितमा १–१ गोल गरे । हाजी राइटले अमेरिकाको लागि फर्काएको गोल सान्त्वनामा सिमित भयो ।

अमेरिकाले खेलमा बल पोसेसनमा पकड जमाएपनि त्यसै अनुरुप आक्रमण बुन्न भने सकेन । विपक्षी हाफमा पुगेपछि अन्तिम पास निकाल्न अमेरिकी मिडफिल्डलाई कठिनाइ भएको थियो । नेदरल्यान्ड्सले काउन्टर अट्याकमा अग्रता लिएर संयमित प्रदर्शन गरेको थियो । रक्षात्मक रुपमा बलियो डच टोलीले काउन्टर अट्याकमा तीव्र आक्रमण गर्दा सफलता हासिल गरेको थियो ।

दोस्रो हाफमा अमेरिकाले आक्रमणमा परिवर्तन गर्दै रणनीति बदल्यो । त्यसपछि केहि सुधारिएको आक्रमणमा अमेरिकाले गोल गर्दै खेलमा पनि फर्कियो । तर नेदरल्यान्ड्सले पुनस् एकपटक दुई विंग ब्याकको भरपुर सदुपयोग गर्दै दुई गोलको अग्रता बनायो ।

खेलको दशौं मिनेटमा डेन्जेल डम्फ्रिजको लो क्रसलाई मेम्फिस डिपाएले गोलमा परिणत गरे । डिपाएले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक म्याट टर्नरले बचाउने अवसर नै पाएनन् । अमेरिकाले जारी विश्वकपमा ओपन प्लेबाट खाएको यो पहिलो गोल हो ।

४२ औं मिनेटमा अमेरिकी फरवार्ड टिम वेहको शक्तिशाली प्रहारलाई गोलरक्षक एन्द्रिज नोपेर्टले विफल पारे । क्लिअर हुन नसकेको बलमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट अचानक गरेको प्रहार नोपेर्टले बचाएका थिए । लगत्तै सर्जिनो डेस्ट बल लिएर पेनाल्टी क्षेत्र भित्रसम्म पुगेपनि उनले अन्तिम प्रहार गर्न भने पाएनन् ।

तर इन्ज्युरी समयमा नेदरल्यान्ड्सले अग्रता दोब्बर पार्यो । डेली ब्लिन्डले डम्फ्रिजको क्रसमा गोल गर्दै डच टोलीलाई २–० ले अघि बढाए । पुनः एकपटक दायाँ विंगबाट डम्फ्रिजको क्रसमा ब्लिन्डले पहिलो टचमै गरेको प्रहार दुई डिफेन्डरको बीचबाट गोल भयो ।

खेलको ४८ औं मिनेटमा नोपेर्टले अमेरिकालाई खेलमा फर्कन दिएनन् । कर्नरमा क्लियर नभएको बललाई टिम रीमले पोस्टतर्फ गरेको प्रहार डच गोलरक्षकले विफल पारे । लगत्तै अर्कोतर्फ डिपाएको प्रहारमा गोलरक्षक टर्नरले उत्कृष्ट बचाउ गर्दै खेल २(० नै कायम राखे । ६१ औं मिनेटमा टर्नरले मेम्फिसको प्रहारलाई जम्प गर्दै बाहिर पठाए ।

७६ औं मिनेटमा हाजी राइटले गोल गर्दै अमेरिकालाई खेलमा फर्काए । क्रिस्टियन पुलिसिचले दिएको लो क्रस ६ यार्ड बक्समा राइट र डच डिफेन्डरहरुको बीचमा आउँदा बल उनको खुट्टामा लाग्दै गोल भएको थियो । डम्फ्रिजले गोललाइनबाट बललाई क्लियर गर्न खोजेपनि उनको प्रयास सफल हुन सकेन ।

त्यसको ५ मिनेटपछि नै नेदरल्यान्ड्सले दुई गोलको अग्रता पुनः स्थापना गर्यो । डेली ब्लिन्डको पासमा डम्फ्रिजले सुन्दर फिनिस गर्दै डच टोलीलाई क्वाटरफाइनल नजिक पुर्याए । राउन्ड अफ १६ को दोस्रो खेलमा आज अर्जेन्टिना र अष्ट्रेलिया भिड्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?