विराटनगरबाट शुरु भयो नेपथ्यको कन्सर्ट

लोकपथ
52
Shares

विराटनगर । मोरङको विराटनगरस्थित हाटखोला मैदान केही दिनदेखि तातेको थियो । नेपथ्य आउने हल्लाखल्ला एक हप्तादेखिकै भएकाले पनि मानिसहरु छिमेकी शहर र भारतबाट समेत आउने सुनाएका थिए । त्यसैले विराटनगर पहिल्यै देखि सङ्गीतमय बनेको थियो । त्यसमाथि मानवता प्रर्वधन जस्तो पवित्र उद्देश्य रहेकाले पनि थप उत्साह देखिन्थ्यो ।

एक्काइस वर्षपछि विराटनगर आएको नेपथ्यले गएराती (मंसिर १६ गते साँझ) शहरलाई नै सङ्गीतमय बनायो । नेपथ्य ब्याण्ड अनि त्यसका मुख्य गायक अमृत गुरुङले यसपाली विराटनगरबासीलाई मात्रै होइन सयौँ भारतीयहरुलाई समेत सङ्गीतमा झुमाए । उनको प्रस्तुति हेर्न भारतको सिक्किम, आसामबाट समेत सङ्गीत पारखीहरु ओइरिए ।

भरिभराउ भएको हाटखोला मैदानमा उनले दुई दर्जन जति नयाँ, पुराना र चर्चित लोकपप गीतहरु गाएर दर्शकलाई मज्जैले मनोरञ्जन दिलाए । हल्का चिसोचिसो मौसममा दर्शकहरु धुलो उडाएरै नाचे । त्यसो त अमृत गुरुङको आफ्नो प्रस्तुति र हाउभाउ नै जुरुकजुरुक पार्ने खालको थियो । आफ्नै सङ्गीतमा गायक आफैँ चुर्लुम्म डुबेपछि दर्शकहरु हेरेर मात्रै बस्न सकेनन् । “वाउ कस्तो दकदार प्रस्तुति”, एक जना दर्शक रेवतबहादु रकार्कीले सङ्गीतमा झुम्दै भने, “कन्सर्ट भनेको यस्तो पो हो त ।”

मंसिर १६ गते शुक्रवार साँझ ४ बजेदेखि नै हाटखोला मैदानमा चहलपहल बढेको थियो । झण्डै ६ बजेबाट सवा ८ बजेसम्म गायक गुरुङले मच्चिमच्चि लगातार गीत गाए । उनको अन्तिमसम्म उस्तै जोशिलो प्रस्तुति रहयो । त्यसैले संगीत पारखीहरुले अटुट रुपमा मनोरञ्जन लिएका थिए ।

शुरुमा उनले भेडाको ऊनजस्तो… गीत गाएर कन्सर्टको ढोका खोलेका थिए । त्यसपछि दर्शकको हुटिङले हाटखोला मैदान गुञ्जियो । वरपरका घरका छत तथा बारहरु समेतमा भरिभराउ दर्शकले साथ दिएको हाटखोला मैदानमा उनले दोस्रो गीत छेक्यो छेक्यो…गाए । त्यसपछि प्रस्तुत भएको उडायो रेलैले, जोमसोमे बजार, शिरफूल शिरैमा, यो जिन्दगी, गाउँगाउँबाट उठ…लगायतका गीतमा दर्शक खुबै रमाए ।

गीतसङ्गीतको बीचबीचमा सन्देशमुलक शब्दहरु भनेर उनले सामाजिक सचेतना जगाउने काम पनि गरे । “कसैले गर्न नसकेको काम मानवसेवा आश्रमले गरिरहेको छ, उहाँहरुलाई मुरिमुरी नमन छ”, उनले थपे, यसमा दान गरेर पुण्य कमाउँ हो.ओ..ई ।”

उनले भर्खरै प्रदेश र सङ्घीय चुनाव सकिएकाले मानिसहरुको मन विभाजित भएको उल्लेख गर्दै त्यसमा भएको द्घैश त्याग्न आम नागरिकमा अपिल पनि गरे । आ–आफ्नो गल्ती मनन गरेर एक जुट भई देश विकासमा लाग्न आग्रह गर्दै गायक गुरुङले थपे, “देश आफैँले बनाउने हो, कसैले बनाइदिन्नन्, हामी आफैँ जुटौँ ।”

त्यसपछि जब उनले स्टेजमा जोगले हुन्छ भेट… बोलको गीत प्रस्तुत गरे हाटखोला मैदान थप सङ्गीतमय बन्यो । दर्शकहरु वान्समोर, वान्समोर भन्दै झुम्मिए । अनि मैनाचे छमछमी…पछि जब रेस्सम्…गाए सुरक्षाकर्मीलाई स्टेजको सुरक्षा दिनै हम्मे हम्मे भयो । त्यसपछि तालको पानी र रातो र चन्द्र सुर्य जस्ता कालजयी एवम् राष्ट्रिय भावनाले ओतप्रोत गीत प्रस्तुत गर्दा दर्शकमा राष्ट्रप्रेम भाव झल्किएको थियो ।

विगत २१ वर्ष अघि विराटनगरमा शिक्षाका लागि कन्सर्ट गरेको स्मरण गर्दै गायक गुरुङले अहिले जो सडक आश्रित मानवहरु छन्, जसका कोही छैनन्, उनीहरुका लागि मानवसेवा आश्रमसँग सहकार्य गर्न पाएकोमा गर्व महसुस भएको बताए ।

उनले धन हुनेले नभइ मन हुनेले मात्रै सहयोग गर्न सक्ने भएकाले आश्रमको महान कामका जो सकिन्छ सहयोग गर्न मञ्चबाटै आब्हान गरे । अब मानवता प्रर्वधनका लागि यही १९ गते विरगञ्जको आदर्शनगर रङ्गशालामा नेपथ्य लाइभ कन्सर्ट हुँदैछ । यस्तै २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा सङ्गीतमार्फत मानवता प्रर्वधन कार्यक्रम हुने आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।

यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्र र १६ गते काठमाडौँको भृकुटीमण्डपमा कार्यक्रम हुने पनि उनले जानकारी दिए । कार्यक्रमले मानवसेवा आश्रममा आश्रितहरुका लागि सहयोग जुटाउनुका साथै आश्रमका देशैभरका निर्माणाधीन भवन सम्पन्न गर्न तथा अक्षयकोष निर्माणका लागि सहयोग पुग्ने कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले बताए ।

उक्त आश्रममा हाल एक हजार ६ सय सडकआश्रित मानवहरु संरक्षित छन् । देशका १९ जिल्लामा २३ शाखामार्फत सेवा गर्दै आएको आश्रमले आगामी २०८२ सालसम्ममा मुलुकका सडकपेटीमा बेवारिसे मानिसहरु नरहने अवस्था सिर्जना गर्ने योजना रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?