उरुग्वेले बनाउन सकेन नकआउट चरणमा स्थान

लोकपथ
78
Shares

काठमाडौं । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा घानालाई हराएपनि उरुग्वे नकआउट चरणमा प्रवेश गर्न सकेन । घानामाथि २–० को जित हासिल गरेपनि उरुग्वे गोलअन्तरमा कोरियाभन्दा पछि रहेर समूह चरणबाट बाहिरियो ।

कप्तान आन्द्रे आयुले पेनाल्टीमा गोल गर्न नसकेपछि सुरु भएको घानाको दुर्भाग्य उरुग्वेको अग्रतापछि थप बढेको थियो । उरुग्वेले ५ मिनेटको अन्तरमा दुई गोल गर्दै खेलमा पकड जमायो । दोस्रो हाफमा घानाले केहि अवसर सिर्जना गरेपनि गोल गर्न सकेन ।

घानाले खेलको १७ अ‍ौं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिने अवसर पाएको थियो । तर कप्तान आन्द्रे आयुको पेनाल्टी गोलरक्षक सर्जियो रोसेटले बचाए । रोसेटले पेनाल्टी क्षेत्रभित्र मोहमद कुडुसलाई लडाएपछि घानाले भिएआरको सहयोगमा पेनाल्टी पाएको थियो ।

उरुग्वेले खेलको २७ अ‍ौं मिनेटमा अग्रता लियो । जिअर्जिअन डे अरासेटाले गोललाइन नजिकबाट बललाई पोस्टभित्र छिराउँदै यस विश्वकपमा उरुग्वेको पहिलो गोल गरे । लुइस सुआरेजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक लरेन्स इटि जिगीले बचाएपनि रिबाउन्डमा अरासेटा गोल गर्न तैनाथ थिए ।

अग्रता दिलाएको ५ मिनेटमै अरासेटाले व्यक्तिगत दोस्रो गोल गरे । यसपटक सुआरेजले दिएको पासलाई अरासेटाले शक्तिशाली प्रहारमा गोल गरे । उनले हावामा आएको पासलाई पहिलो टचमै हाफ भलीमा सुन्दर फिनिस गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?