खनालमाथिको आरोप पुष्टि गर्न एमालेलाई समाजवादीले दियो चुनौती

लोकपथ
1.2k
Shares

इलाम । नेकपा (एकीकृत समाजवादी) इलामले नेता खनालमाथि एमालेले लगाएको आरोप पुष्टि गर्न चेतावनी नै दिएको छ । सो पाटीले शुक्रबार विज्ञप्ति जारी गर्दै इलाम क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार रहेका खनालमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएको हो ।

‘बम विस्फोटन जस्तो गम्भीर प्रकृतिको मुद्दालाई आधार, कारण र प्रमाण बिनानै गठबन्धनका उम्मेदवारलाई आरोप लगाउने कार्य अपराधजन्य कार्य भएकाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का एमालेका उदयबहादुर राईलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्दछु,’ जिल्ला अध्यक्ष भक्त केसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का संयोजक उदयबहादुर राईले नेता खनालले जथाभाबी बोल्नुका साथै बम पड्काएको आरोप लगाएका थिए । उक्त आरोपप्रति ध्यानाकर्षण भएको जनाउँदै नेकपा एकीकृत समाजवादीले एमालेले लगाएको आरोपलाई पुष्टि गर्न भनेको छ ।

‘व्यक्तिगत किटानी गरी गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता क.झलनाथ खनाललाई लगाइएको आरोप पुष्टि गर्न म उदयबहादुर राई र एमाले पार्टीलाई चुनौती दिन चाहान्छु’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इलाम १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार खनाल एमाले उम्मेदवार महेश बस्नेतसँग पराजित भएका थिए । नेता खनालले धाँदलीपूर्ण तरिकाले निर्वाचन भएको भन्दै कानुनी उपचार खोज्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?