काठमाडौं। गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भेटवार्ता भएको छ । बिहिवार सिंहदरबारमा भएको भेटवार्तामा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए ।
भेटमा यसअघि दुई पक्षबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा कुराकानी भएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ ।
भेटमा पूर्व कानुन मन्त्री गोविन्द बन्दी, महान्यायाधीवक्ता खम्मबहादुर खाती र गृहसचिव विनोदप्रकाश सिंह सहभागी थिए । भेटमा नेकपासँग सम्बन्धित मुद्दा छिटो टुंग्याउन अहिलेसम्म भएका प्रगतिबारे छलफल भएको थियो । विप्लव समुहसँग भएको सहमति अनुसार मुद्दा टुंग्याउन २०७९ भदौ २१ मा बसेको मन्त्रिपरिषद्ले गृह मातहतमा रहेका मुद्दा प्रशासनिक प्रक्रिया र अदालती प्रक्रियामा पुगेका मुद्दालाई टुंग्याउन कानुन संसोधन गर्ने निर्णय गरेको थियो ।
गृहमन्त्री खाणले नेकपाका नेताहरूसँग भएको सहमतिका आधारमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘सरकारको निर्णय कार्यान्वयन गर्न प्रतिबद्ध छौँ,’ गृहमन्त्री खाणले भने–‘केही प्रशासनिक तवरबाट हुने निर्णय भइसकेका छन्, अदालती प्रक्रियामा गएका मुद्दाहरूबारे पनि प्रक्रिया अगाडि बढिसकेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया