चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी सीता

लोकपथ
494
Shares

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहन्थे । त्यही भएर सीतालाई स्टाफ नर्स पढ्न कर गर्थे । उनले छ महिना जति पनि पढिन् । तर, एक्कासी सीताको मनमा अरु नै कुरा खेल्न थाल्यो ।

चिकित्सकको सम्बन्ध त बिरामीसँग मात्र हुन्छ, बिरामी भएर आएका जति सबैलाई बचाउन सकिँदैन, यस्ता यस्ता कुरा मनमा खेल्न थालेपछि सीताले स्टाफ नर्स पढ्न पटक्कै मानिन् र उनी घर फर्किन् । प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट तेह्रथुमबाट निर्वाचित सीता गुरुङ इवामा जन्मिए पनि उनको प्रारम्भिक शिक्षा ताप्लेजुङको कञ्चनजङ्गा निमावि याम्फुदिनबाट सुरु भएको हो ।

बुबा पदमबहादुर पञ्चायतकालदेखि नै राजनीतिमा संलग्न थिए ।  बुबाको राजनीति देखेर सानैदेखि प्रभावित सीता २०४६ सालको जनआन्दोलनमा प्रत्यक्ष रुपमा संलग्न भइन् । उनी त्यतिबेला खबर ओसारप्रसारमा संलग्न भएकी थिइन् । विसं २०४६ अघिदेखि नै राजनीतिमा चासो राखेकी सीता त्रिमोहन माध्यमिक विद्यालयमा पढ्दा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइन् । उनको औपचारिक राजनीतिक यात्रा यहीँबाट सुरु भएको हो ।

‘सानैदेखि समाजमा भएका गतिविधिबाट म प्रभावित भए’, प्रतिनिधिसभा सदस्यमा निर्वाचित सीताले भनिन्, ‘महिला माथिको हिंसा र त्यसको न्याय दिने चलन पटक्कै मन परेन, त्यसविरुद्ध लाग्ने अठोटका साथ राजनीतिमा उत्रिए ।’ त्यही अठोटका कारण दोस्रोपटक प्रतिनिधिसभामा पाइला राख्न सफल भएको सीताको ठम्याइ छ । उनको राजनीतिक यात्रा लामो छ ।

विद्यार्थी राजनीतिमा लाग्दा २०४८ सालमा सीता नेपाल विद्यार्थी सङ्घ तेह्रथुमको सचिव बनिन् । विसं २०५४ मा उहाँ नेपाल तरुण दलको कोषाध्यक्ष तथा २०५७ सालमा नेपाल महिला सङ्घ तेह्रथुमको अध्यक्ष बनेकी थिइन् । विसं २०५८ मा नेपाल महिला सङ्घ केन्द्रीय सदस्य बन्नुभएकी सीता २०६० सालमा सचिव भइन् ।

लगातार पार्टी राजनीतिमा लागेकी उनी २०६२ मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै २०६४ सालमा कांग्रेसको नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारिणी समिति सदस्य बनिन् । विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा संविधानसभा सदस्य बनेकी सीताले संविधानसभा अन्तर्गतको २०६५ मा राज्यको शासकीयस्वरुप निर्धारण समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिको सदस्यका रुपमा भूमिका निर्वाह गरिन् ।

उनी तेह्रथुमको इतिहासमा फड्को मार्ने महिलामध्येको एउटा हुन् । दोस्रो संविधासभामासमेत प्रतिनिधित्व गर्ने मौका पाएकी सीता संविधान मस्यौदा समिति र राज्य व्यवस्था समितिको सदस्य बनेकी थिइन् । तेह्रथुमको प्रतिनिधित्व गर्दै सीता २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनिन् ।

उनी २०७४ सालको निर्वाचनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतले पराजित भए । दोस्रो प्रयासमा यस पटक नेकपा (एमाले) का विजय सुब्बालाई एक हजार ७९ मतान्तरले पराजित गर्दै सीता संसद्मा प्रवेश गर्दैछन् । सीताले १९ हजार सात सय दुुई मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले १८ हजार छ सय २३ मत पाए ।

विसं २०६७ देखि निरन्तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेकी सीतालाई साहसिक महिलाका रुपमा हेर्ने गरिएको छ । ‘तेह्रथुमको विकास र समृद्धिका लागि लामो समयदेखि भूमिका निभाएकै कारण मलाई जनताले साथ दिएका हुन्’, उनले भने, ‘अबका दिनमा जनतालाई हरेक समस्या र परिस्थितिमा साथ दिन्छु’, नवनिर्वाचित सांसद सीताले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?