गगन–विश्वले कांग्रेसमा खोजेको परिवर्तनमा प्रदीपले सघाउलान् ?

यस पटकको निर्वाचनले दशकौंदेखि जारी राजनीतिक ‘सिण्डकेट’ मा जबरजस्त कम्पन पैदा गरिदियो । २०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापना भएयता शक्तिकेन्द्रमा निर्विकल्प झै राज गरिरहेकाहरुमाथि मतदाताले खोट्टा हाने ।

विचार, सिद्धान्त, नीति, आदर्श र मूल्य–मान्यतालाई अघि सार्दै दशकौं राजनीति गरेका भनिएका दलहरु जब विचारविहीन सत्तायात्राको टुकुचामा होमिए, त्यसपछि मतदाताले पनि सीमारेखा तोडे ।

अर्थात्, कांग्रेस, एमाले वा माओवादीलाई मत दिनु र सिद्धान्तका फेर नसमातेका नवगठित पार्टीहरुलाई मत हाल्नुमा कुनै भेद देखेनन् । आफूलाई प्रजातन्त्र, नागरिक स्वतन्त्रता, विधिको शासन, लोककल्याणकारी राज्यव्यवस्थाको मसिहा ठान्ने नेपाली कांग्रेसले ठीक विपरित कम्युनिष्ट एकाधिकारवादी राज्यव्यवस्थाको मतियार माओवादीसँग सत्ताकै खातिर घाँटी जोड्न पुग्यो ।

अर्कातिर, मदन भण्डारीको जनताको बहुदलीय जनवादको मसिहा एमालेले पुनर्उत्थान एवं राजावादी राप्रपासँग नाइटो जोड्यो । यी हर्कतबाट, न कांग्रेसी÷एमाले कार्यकर्ता, न उप्रति शुभेच्छा राख्ने मतदाता कसैलाई पनि विचारको बन्धन रहेन । फुक्काफाल निर्णय गर्न पुगे ।

र त, अप्राकृतिक गठबन्धनको सहारामा प्रत्यक्षतर्फ अघिल्लो चुनावको भन्दा बढी सिट ल्याएको कांग्रेसले समानुपातिकमा दशकौंदेखि कायम निष्ठावान मतदाता गुमायो । एमालेले प्रत्यक्षमा अघिल्लो चुनावमाभन्दा सिट मात्र गुमाएन, समानुपातिकमा पनि जति ल्याउन सक्थ्यो त्यो देखिएन । बरु मत रास्वपा, राप्रपाहुँदै जनमत पार्टीतिर हेलियो ।

राष्ट्रिय राजनीतिमा ठूला दलका नेतृत्वले गरेको मनपरीतन्त्र विरुद्ध मतमार्फत् जेहाद छेडेका मतदाताले सबैजसो दलमा दण्डित गर्नैपर्नेलाई गरेरै छाडे । तुलनात्मक रुपमा स्वच्छ छबि बनाएका, प्रष्ट विचार बोकेका र युवावयका उम्मेदवारहरुलाई निर्धक्क मत दिए । यद्यपि, जायज÷नाजायज बाटोबाट कुम्ल्याएको अकूत धन प्रयोग गरेर राजनीति कब्जा गर्न आएका केही पात्र पनि विजित बने ।

जसको सबैभन्दा ठूलो असर वर्तमानमा नेपालको संस्थापन बन्नुपर्ने तर बन्न नसकिरहेको कांग्रेसको जीवनमा देखिँदैछ । यस पटक मतदाताले कांग्रेसभित्र परिवर्तनको आकांक्षासहित छुटाउनै नहुने केही युवालाई सदनमा पठाए । केही जो कांग्रेसी राजनीतिमा शकूनी र बदनामीको बाटोमा रमाइरहे, तिनलाई विश्रामको बाटो देखाए ।

पार्टी र राष्ट्रिय राजनीतिमा परिवर्तन खोजिरहेका गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत परिवर्तनकामी सांसदलाई उनीहरुले निर्धक्क आफ्ना प्रतिनिधि बनाएर सिंहदरवार पठाएका छन् । जसप्रति कांग्रेसको राजनीतिक जीवन मात्र होइन देशकै राजनीतिक भविष्यलाई पनि जोडेर हेरिएको छ । अब यी युवाले खेल्ने भूमिका र निर्णयलाई देशले नै निकै चासोका साथ हेरिरहेको छ ।

त्यसैलेत, निर्वाचन अगावै आफू निर्वाचित भएमा कांग्रेस संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्ने र प्रधानमन्त्री बन्ने उद्घोष गरेका गगन थापा चुनावलगत्तै त्यही गृहकार्यमा जुटिसकेका छन् । उक्त उद्घोषलाई साथ दिँदै आफ्नो जीत फगत सांसद बन्न नभई गगनलाई दलको नेतामा प्रस्ताव गर्न र नयाँ पिँढीको हातमा मुलुकको कमाण्ड सुम्पने भूमिका खेल्न भएको बताउने विश्वप्रकाशले त्यो मार्ग अवलम्बन गरिसकेका छन् ।

दुई महामन्त्रीले दशकौंदेखि पार्टीमा जाम भएर अड्किएको नेतृत्व परिवर्तनका लागि कम्मर कस्दा तिनैको सदाशयतासमेतले काठमाडौं ५ मा चुनावको बेंडा पल्टाएका प्रदीप पौडेलले के गर्छन् भन्ने धेरैको चासो छ । किनकी गगन र विश्वझै प्रदीप पनि युवा पुस्तालाई अपील गर्ने क्षमता राख्दछन् ।

चुनावी परिणाम आएलगत्तै झापामा मतदातालाई बधाई दिन व्यस्त विश्वप्रकाश एकदिनका लागि भए पनि काठमाडौं उत्रेर गगनलाई पछि नहट्न र खुट्टा नलप्कमाउन ढाडस दिएर फेरि उतै फर्कँदा प्रदीपले यसबारे कतै बोली चुहाएका छैनन् । धेरैले उनीप्रति आशा र संशयको नजरले हेरिरहेका छन् । के गर्छन् प्रदीप भनेर ।

कांग्रेसमा यी तीन युवाले चाल्ने कदमले किन पनि अर्थ राख्छ भने, अबको राजनीति डाँडामाथिका जून भएकाहरुलाई भन्दा, बीसौं वर्ष राजनीतिमा रहेर भविष्य खोजिरहेकाहरुका लागि हो । त्यसैले प्रदीप भविष्य र राजनीतिमा सुधार चाहनेका साथमा हुनेछन् वा अन्यथा निर्णयमा पुग्नेछन् भन्ने विषयले निकै अर्थ राख्नेछ ।

राजनीतिमा युवा हस्तक्षेप बढ्न लागेका बेला उनीहरुलाई आशा देखाउन पनि मूलधारका दलमा सुधार जरुरी छ । जुन तत्कालमा कांग्रेसमा मात्र सम्भव देखिन्छ । कम्तिमा कांग्रेसमा नेतृत्वलाई चुनौती दिने युवा देखिँदा अर्को ठूलो दल एमालेमा त्यो साहस देखिएको छैन । त्यहाँ, अध्यक्ष केपी ओलीको आराधना नगरे अस्तित्व सकिने डर छ । भीम रावल र घनश्याम भूषालको टिकट काटिँदा ओलीको स्तुती नगाए सकिन्छु भन्ने योगेश भट्टराईले पर्नु अन्यथा भएन । माओवादीमा त प्रचण्ड नै सर्वेसर्वा भैहाले । कसले औंला ठड्याउने ?

त्यसैले प्रदीपले सरल र सहज जोखना हेर्ने होइन, दूरगामी प्रभाव छाड्न सक्ने बलियो निर्णय लिउन् । कांग्रेस सुद्धीकरणको यात्रामा गगन–विश्वलाई होस्टेमा हैसे गरुन् । त्योसँगै भविष्यका लागि राजनीति गर्न उद्दत अरु नेतालाई पनि यो अभियानमा जोडून् । सांसदमा अनुमोदन हुन राजनीतिक भ्रष्टीकरण रोक्न काठमाडौं ५ का मतदातासमक्ष गरेको बाचा पनि नभुलून् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?