कर्णाली प्रदेश सरकार : शाही, शाह, कँडेल, शर्मा र विष्ट मुख्यमन्त्रीको दौडमा

लोकपथ
169
Shares

प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएसँगै कर्णाली प्रदेशमा कस्को नेतृत्वमा कस्तो सरकार बन्ला भन्ने कौतूहलता छ । चोक, चौतारा र चिया पसलहरुमा सत्ता गठबन्धन वा एमाले कस्ले गर्ला प्रदेश सरकारको नेतृत्व भन्ने चासो बढेको हो । उनीहरुले प्रदेशमा बन्न सक्ने सम्भावित समीकरणको हिसाब पनि गर्न थालेका छन् ।

यी हुन्, मुख्यमन्त्रीका प्रमुख दाबेदार ?

नेपाली कांग्रेस : जीवनबहादुर शाही, राजीवविक्रम शाह

नेकपा एमाले : यामलाल कँडेल, विनोदकुमार शाह

नेकपा माओवादी केन्द्र : राजकुमार शर्मा, विन्दमान विष्ट

मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेश सभामा फेरि दोहोरिएकाले उनले नै प्रदेश सरकारको दोस्रो कार्यकालको नेतृत्व गर्ने सम्भावना छ । उसोत, कांंग्रेसबाट शाहीसँगै जाजरकोटका राजीवविक्रम शाह पनि दाबेदार मानिएका छन् । तर उनले अहिलेसम्म कतै मुख भने खोलेका छैनन् ।
यसअघि, चुनावी सभालाई सम्बोधन गर्न हुम्ला पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव जिताएर पठाएमा जीवनबहादुर शाहीलाई नै मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए । त्यसले पनि दोस्रो कार्यकालको नेतृत्व आफूले पाउनेमा शाही ढुक्क छन् ।
तर प्रत्यक्षतर्फ २४ स्थान मध्ये ९ स्थान जितेको माओवादीले अन्य प्रदेशभन्दा कर्णालीलाई प्राथामिकता राख्र्दै गठबन्धन दलहरुबीच पहिले नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्न थालेको छ । माओवादी केन्द्रबाट रुकुम पश्चिमका राजकुमार शर्मा, सुर्खेतका विन्दमान विष्ट मुख्यमन्त्रीका प्रमुख दाबेदार मनिएका छन् ।

अहिलेकै अवस्थामा सत्ता गठबन्धन कायमै रहेमा कांग्रेसले पहिले र त्यसपछि माओवादीले आधा-आधा कार्यकाल नेतृत्व गर्ने सहमति पनि हुनसक्छ । तर यो निर्णय दलहरुले प्रदेशस्तरमै गर्न सक्ने अवस्था भने छैन ।

यता, सत्ता गठबन्धन कायम नरहे मात्र तेस्रो शक्ति अर्थात् एमालेको हातमा नेतृत्व पुग्नेछ । अहिलेसम्मको अवस्था हेर्दा कांंग्रेस-माओवादी त्यो बाटोतर्फ अग्रसर छैनन् । एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने अवस्था आएमा यामलाल कँडेल प्रमुख दाबेदार हुन् । उनी प्रदेश सभामा एमालेको संसदीय दलका निवर्तमान नेता पनि हुन । साथै प्रदेश अध्यक्ष विनोदकुमार शाह पनि मुख्यमन्त्रीको दाबेदार रहेका छन् ।

कसैको पनि छैन एकल बहुमत

मुख्यमन्त्री र सरकार निर्माणका लागि दलहरुले मुख मिठ्याइरहे पनि ४० सदस्यीय प्रदेश सभामा २४ जना प्रत्यक्ष निर्वाचित भईसकेका छन् । १६ जना समानुपातिक प्रणालीबाट चुनिँदैछन् । समानुपातिको मतगणना जारी छ ।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ कांंग्रेस र माओवादी केन्द्रले समान ९/ ९ स्थान जित्दा एमालेले ५ स्थानमा मात्र जितेको छ । एक स्थानमा भने स्वतन्त्र विजयी भएको छ ।
समानुपतिकको मतगणना चलिरहँदा एमाले शीर्ष स्थानमा रहेको छ भने कांग्रेस दोस्रोमा छ । माओवादी तेस्रो स्थानमा रहँदा नेकपा एस चौथो र राप्रपा पाँचौ स्थानमा रहेको छ ।

कहिलेसम्म बन्छ प्रदेश सरकार, यस्तो छ संंवैधानिक व्यावस्था ?

नेपालको संंविधानको धारा १६८ को उपधारा १ मा प्रदेश मन्त्रिपरिषद्सम्बन्धि प्रावधान छ । प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संंसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ ।

उपधारा २ मा यदि उपधारा १ बमोजिम प्रदेश सभामा कुनै दलको स्पष्ट बहुमत नआएको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्र्ने दुईृ वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् । त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनुपर्नेछ ।

प्रदेश सभाको अन्तिम निर्वाचन परिणाम घोषण भएको ३० दिनभित्र मुख्यमन्त्री नियुक्त गरिसक्नुपर्ने छ । निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएपछि ३० दिनको सीमा शुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?