कांग्रेसका ७ नेता, जसलाई गठबन्धन फापेन

एक्लै प्रतिस्पर्धा गर्दा जितेका तर अहिले गठबन्धन हुँदा पनि हार्ने कांग्रेसका उम्मेदवारहरू

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । विजयी हुनेमा कतिपय पुरानै अनुहार दोहोरिँदा कति नयाँले संसद यात्रा तय गरेका छन् । जसमा पुराना दलका साथै नयाँ पार्टी र स्वतन्त्र उम्मेदवार पनि रहेका छन् ।

धेरैभन्दा धेरै सिट जित्नका लागि यस पटक सत्तारुढ दलहरुले निर्वाचनमा गठबन्धन नै बनाएर गएका थिए । ती दल मध्ये पनि नेपाली कांग्रेसमा त, २०७४ सालको निर्वाचनमा एक्लै लड्दा पनि जितेकाहरुले यस पटक पराजयको ब्यहोरे ।

प्रत्यक्षतर्फको १६५ स्थानमा अघिल्लो पटक २३ सिटमा थन्किएको कांग्रेसलाई गठबन्धनकै शक्तिले यसपटक दोब्बर बनाइदिएको छ । त्यसबेला जितेका मध्ये २० जना यस पटक माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासमेतको साथमा मैदानमा ओर्लिएका थिए । तर अघिल्लो चुनावमा एक्कलै लड्दा पनि जितेकाहरुलाई गठबन्धनको बलले पनि जोगाउन सकेन ।

कांग्रेसले त्यस्ता सात क्षेत्र यसपटक गुमाउनु पर्यो  । अघिल्लो पटक पार्टीले एक्लै प्रतिस्पर्धा गर्दा जितेका तर अहिले गठबन्धन हुँदा पनि हार्ने कांग्रेस उम्मेदवारमा उमकान्त चौधारी बारा १, सीताराम मेहता सुनसरी २, भीमसेनदास प्रधान काठमाडौं ६ छन् । यसैगरी, प्रमोदकुमार यादव रुपन्देही ४, भरतकुमार शाह रुपन्देही ५, अभिषेकप्रताप शाह कपिलवस्तु ३ र देवेन्द्रराज कंडेल नवलपरासी पश्चिम २ ले पनि आफ्नो हार टार्न सकेनन् ।

कार्यकर्ताको भावना नबुझी निकटताका अधारमा टिकट वितरण तथा निर्वाचनमा गरेका प्रतिबद्धता अनुसार काम नगर्दा उनीहरु मतदाताको निशानामा परेका हुन् । तर पराजितहरु भने समानुपतिकतर्फको टिकट वितरण न्यायिक नहुँदा आफू पराजित भएको तर्क गर्छन् ।
उम्मेदवार चयनमा तल्लो निकायको कुरा नसुनेर केन्द्रको जबरजस्त निर्णय, गठबन्धनले अपेक्षा गरे अनुसारको मत नखस्नु र नपर्नुका साथै गठबन्धन केन्द्रमै सीमित रहँदा कांग्रेसले ती क्षेत्रमा हार भोग्नु परेको जानकारहरु बताउँछन् ।

निर्वाचनमा हार जित स्वभाविक हो तर एक्लै प्रतिस्पर्धा गर्दा जित्नेले अरु सँग तालमेल गर्दा जित्न नसक्नुलाई भने चुनाव जितेपछि मतदातासँग गरेका बाचा भुलेको रुपमा लिइएको छ । उनीहरुलाई एक्लै र पहिलो पटक मैदानमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीदेखि तालमेलमा चुनावमा गएको एमाले उम्मेदवारहरुले उनीहरुलाई पराजित गरिदिएका हुन् ।

हुनत, यस पटक कांग्रेस मात्र होइन, एमालेलगायत दलका शीर्ष नेताहरु पनि मतदाताबाट दण्डित भएका छन् । एमालेमा २०७४ मा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट जितेकाहरु यस पटक उक्त शक्ति नपुग्दा हार्न पुगेको देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?