एकै धक्कामा राष्ट्रिय दल बने स्वतन्त्र र जनमत पार्टी, एसलाई पत्याएनन् मतदाताले

लोकपथ
481
Shares

काठमाडौं । पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएका २ नयाँ पार्टीले पहिलै पटक राष्ट्रिय पार्टीको मान्यता कायम बनाउन सफल बनेका छन् । तराईमा मुख्य आधार बनाएर गठन भएको सीके राउत नेतृत्वको जनमत पार्टी र रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो चरणमै संसदमा राम्रो उपस्थिति जनाएका हुन् ।

हालसम्म स्वतन्त्र पार्टीले समानुपातिकमा १० लाख ८४ हजार ८ सय २७ मतसहित प्रत्यक्षमा ७ सिट जितेको छ । यता जनमत पार्टीले हालसम्म ३ लाख २९ हजार ८ सय २८ मतसहित प्रत्यक्षमा १ सिट जितेको छ । प्रत्यक्षको सिट संख्याको आधारमा नेपाली कांग्रेस पहिलो रहेको छ भने समानुपातिकमा नेकपा एमालेको अग्रता कायम रहेको छ ।

हालसम्म एमालेले समानुपातिकमा २६ लाख ३७ हजार ६ सय ५५ मत ल्याएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले हालसम्म २४ लाख ९२ हजार ९ सय १५ मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख २३ हजार ७ सय ४९ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले १७ स्थानमा प्रत्यक्ष चुनाव जितेको छ ।

तत्कालीन नेकपाको विभाजनपछि एमालेसँग छुट्टिएर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी भने बल्ल थ्रेसहोल्ट कटाउने तयारीमा रहेको छ । मुल पार्टी नेकपा एमालेसँग विद्रोह गरेर आएको एकीकृत समाजवादीले कति सिट ल्याउँछ भन्ने धेरैको आंकलन रहेको थियो ।

एक अर्कामा परस्पर विरोधी रहेका नेकपा एमालेका अध्यक्षले स्वंयले एकीकृत समाजवादीले थ्रेसहोल्ड नकटाउने दाबी गरेका थिए । जसमा चुनावी परिणामले समेत देखाएको छ । हालसम्म २ लाख ७६ हजार ५ सय ४८ मत प्राप्त गरेको छ । अब करिब १२ लाख मतको गणना बाँकी रहेको छ । देशभरबाट एकीकृत समाजवादीले समानुपातिकामा पाएको मतको अनुपातमा अझै थ्रेसहोल्ड कटाउन कठिन पर्ने देखिन्छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्रसहित अन्य दलहरुसँगको गठबन्धन गरेर गएको एकीकृत समाजवादीले देशभरबाट संघीय संसदमा १० सिट प्रत्यक्षमा जितेको छ । यता प्रत्यक्षमा १० सिट जिते पनि समानुपातिकमा ३ प्रतिशत मत कटाउन नसक्दा एकीकृत समाजवादी राष्ट्रिय पार्टी नबन्ने देखिएको छ ।

देशभर गठबन्धनमा आवद्ध भइ देशभरबाट १७ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएको थियो । राष्ट्रिय रुपमै संगठन निर्माण गरेको भए पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसक्ने अवस्थामा पुगेपछि अध्यक्ष नेपाललाई पहिल्यै गाँसमा ढुंगा लागेको भनेजस्तो भएको छ । चुनाव अघि आफ्नो पार्टी ठूलो बन्ने दाबी गरेका नेपाल अब भने पार्टी खुम्चिएको कारणबारे समिक्षा गर्ने तयारीमा रहेका छन् ।

यता तराई केन्द्रित दल जनमत पार्टीको राष्ट्रिय संगठन नभए पनि थ्रेसहोल्ड कटाएको छ । प्रत्यक्षमा १ सिट मात्रै जिते पनि संसदमा राष्ट्रिय पार्टी बनिसकेको छ ।

यता केही महिनाअघि मात्रै निर्वाचन आयोगमा दर्ता भएर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा अनपेक्षित सिट ल्याउँदै समानुपातिकामा समेत पुराना राजनीतिक दललाई टक्कर दिएको छ । देशका केही जिल्लामा मात्रै संगठन बनाउन सकेको रास्वपाले पाएको मतको आधारमा सांगठनिक बल भन्दा पनि व्यक्तिगत प्रभाव नै मत पाउने आधार रहेको पुष्टि गरेको छ ।

मंसिर ४ को निर्वाचनका लागि कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेका छन् । जसमध्ये ६२ प्रतिशत मात्रै मत खसेको छ । हालसम्म ५९ स्थानको मतगणनाको नतिजा आइसकेको छ । त्यसैगरी ३ स्थानमा गणना भइरहेको छ । यता बाजुरा, स्याङ्जा २ र दोलखामा मतगणना हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?