कांग्रेसमा प्रधानमन्त्री बन्नेहरुको हुटहुटी : ‘बच्चा पाउनु कता कता, भोटो सिउनु हतार !’

लोकपथ
416
Shares

मंसिर ४ मा सम्पन्न आमनिर्वाचनबाट कुनै दलको पनि बहुमत आउने देखिएन ।

एउटा दलको बहुमत आउने सम्भावना त हाम्रो संवैधानिक व्यवस्थाकै कारण पनि असम्भव जस्तो छ । त्यस्तोमा चुनाव अगावै गठबन्धन गरेर गएका सत्तारुढ दल र विपक्षीहरुले पनि बहुमत पु¥याउन सक्ने अवस्था देखिएको छैन । बहुमतको निकट पुगेर पनि सत्तारुढ गठबन्धनलाई थोरै संख्याले धोका देला जस्तो छ ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टीमध्ये कांग्रेस र माओवादीबाहेक अरुले राष्ट्रिय पार्टी बन्न र समानुपातिकतर्फ प्रतिनिधित्व हुनका लागि आवश्यक पर्ने तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसक्ने देखिएको छ ।

प्रत्यक्षतर्फ १० सिट जितेको नेकपा एसले तीन प्रतिशत मत ल्याउन सक्ने अनुमान गरिए पनि उसले उक्त मत संकलन गर्न नसक्दा सरकार बनाउनका लागि आवश्यक संख्या १३८ सिट पुग्न गाह्रो देखिन्छ ।

यता, चुनावबाट सबैभन्दा ठूलो दलका रुपमा आएको कांग्रेसमा भने सरकार बनाउन चाहिने बहुमत कसरी जुटाउने भन्ने जोहो नहुँदै प्रधानमन्त्री बन्न हुरतुराउनेहरुको संख्या बढ्दो छ । ‘बच्चा पाउनु कता कता, भोटो सिउनु हतार’ भन्ने नेपाली उखानलाई बिर्साउने गरी कांग्रेसी नेताहरु प्रधानमन्त्रीको सपना बोकेर दौडाहामा लागेका छन् ।

अर्कातिर प्रधानमन्त्री बन्नकै लागि पनि पार्टीभित्रै संसदीय दलको नेतामा निर्वाचित हुनु पर्दछ । एकत, सबैतिरको परिणाम नै आएको छैन । तीन निर्वाचन क्षेत्रमा त विवादका कारण मतगणना नै हुन सकेको छैन । समानुपातिकको गणना नसकी कुन दलले कति संख्यामा सांसद पाउँछन् भन्ने टुंग्गो छैन ।

कांग्रेसमा सभापति शेरबहादुर देउवाबाहेक प्रधानमन्त्री हुने सपना बोकेर दौडनेमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु शेखर कोइराला, शशांक कोइराला छन् । सभापति देउवा, आफू फेरि प्रधानमन्त्री बन्ने तारतम्यकै लागि गठबन्धन बनाएर निर्वाचनमा होमिएका हुन् भने महामन्त्री थापाले चुनाव अगावै निर्वाचनपछि पार्टीको संसदीय दलको नेतामा आफू प्रतिष्पर्धा गर्ने र जितेर प्रधानमन्त्री बन्ने उद्घोष गरिसकेका छन् ।

यस्तोमा, सभापति एवं प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलका नेताहरुसँग छलफल थालेका छन् भने उनैको सिको गर्दै नेताहरु पौडेल र सिंहले पनि अरु पार्टीका नेतासँग भेट बढाएका छन् । नेता पौडेलले गठबन्धनकै एक घटब नेकपा एसका अध्यक्ष माधव नेपालसँग भेट गरेर प्रधानमन्त्रीमा आफूलाई सघाउन याचना गरेका छन् भने सिंहले भने विपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेका छन् । दुई नेताका बीचमा के कस्तो कुराकानी भयो भन्ने प्रष्ट नभए पनि भेटपछि खिंचिएको तस्वीरमा नेता सिंह निकै प्रफुल्लित मुद्रामा देखिएकाले अध्यक्ष ओलीले केही न केही ‘खुराक’ खुवाएको बुझ्न सकिन्छ ।

महामन्त्री थापाले भने अब यही ढर्राको सरकार र उही पुराना अनुहारले सरकार बनाउने र चलाउने खेलमा लाग्ने हो भने जनमतप्रति धोका हुने बताएका छन् । उनी नयाँ सरकारको नेतृत्वमा सके आफै नभए पनि नयाँ पुस्ता आउनुपर्ने पक्षमा छन् । त्यसका लागि उनले संसदमा नयाँ शक्तिकमा रुपमा उदाएका दलका नेताहरुसँग संवाद सघन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?