समानुपातिकमा एमालेले २५ लाख कटायो, जनमत र एस राष्ट्रिय पार्टी बन्ने बाटोमा

लोकपथ
2k
Shares

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतगणना जारी रहेको छ । हालसम्म सार्वजनिक मतपरिणाम अनुसार नेकपा (एमाले) पहिलो दल बनेको छ । जारी मतगणनामा समानुपातिकतर्फ नेकपा एमालेले २५ लाख बढी मत ल्याएर अग्रस्थान कायम गरेको छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा (एमाले) ले हालसम्म २५ लाख २५ हजार ९९ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले २३ लाख ९२ हजार २ सय ४२ मत प्राप्त गरेको छ । प्रत्यक्षमा नेपाली कांग्रेसले अग्रस्थान कायम गरे पनि समानुपातिकमा भने नेकपा (एमाले) भन्दा १ लाख ३२ हजार ८ सय ५७ मतले पछाडि रहेको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६१ हजार ७ सय ५८ मत प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र) ले १० लाख ५६ हजार २ सय ७० मत प्राप्त गरी चौथो स्थानमा रहेको छ । राप्रपाले ५ लाख ४४ हजार ६ सय ३९ मत प्राप्त गरेको छ ।

यता, जनता समाजवादी पार्टी (जसपा) ले ३ लाख १९ हजार ४६८ मत ल्याएको छ भने जनमत पार्टीले २ लाख ५६ हजार ४६ मत ल्याएको छ । नेकपा (एकीकृत समाजवादी) ले २ लाख ३७ हजार ९४२ मत ल्याएर राष्ट्रिय पार्टी बन्ने बाटोमा गएको छ ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९ सय ४२ मत प्राप्त गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले हालसम्म १ लाख २६ हजार ४१ मत प्राप्त गरेको छ । त्यस्तै, नेपाल मजदुर किसान पार्टीले ७२ हजार ७६३ मत प्राप्त गरेको आयोगको तथ्यांकले देखाएको छ ।

हाम्रो नेपाली पार्टीले ५२ हजार ८१४ मत ल्याएर १२ औँ स्थानमा छ भने, मंगोल नेशलन अर्गनाइजेशनले ४५ हजार ५३९ मत ल्याएको छ । राष्ट्रिय जनमोर्चाले हालसम्म ४४ हजार ७९८ मत ल्याएको छ । त्यसैगरी नेपाल संघीय समाजवादी पार्टीले ३० हजार ९४१ मत ल्याएको छ । हाल मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?