ईलाम–१ मा पनि समानुपातिक गन्दा प्रत्यक्षको मतपत्र भेटियो

लोकपथ
637
Shares

ईलाम । ईलाम क्षेत्र नं १ को समानुपातिकको मतगणना गर्दा प्रत्यक्षको मतपत्र भेटिएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सकिएर अन्तिम परिणाम समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छ ।

तर समानुपातिकमा प्रत्यक्षको मतपत्र भेटिएपछि मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ईलाम–१ ले जनाएको छ ।

सबै मतगणना सम्पन्न भएपछि मात्रै प्रत्यक्षतर्फको अन्तिम नजिता सार्वजनिक गरिनेछ ।

‘प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फको मतगणना सम्पन्न भएको छ ।’ आयोगको कार्यालयले भनेको छ, ‘यद्यपी मतदाताहरुले मतदान गर्ने क्रममा केही मतपत्र समानुपातिक निर्वाचन प्रणालीको मतपेटीकामा समेत खसाएको हुनाले प्रत्यक्ष तर्फका उम्मेदवारहरुले प्राप्त गर्नु भएको मतको अन्तिम विवरण समानुपातिक निर्वाचन प्रणाली तर्फको सम्पूर्ण मतगणना भएपश्चात सार्वजनिक गरिनेछ ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले एमालेका महेश बस्नेतले जित हात पारेको घोषणा गरेको छ । यता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन् ।

यसअघि पाँचथरमा पनि समानुपातिकको गणना गर्दा प्रत्यक्षको मतपत्र भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?