प्रदेशसभाको यात्रा : दुई जना दोहोरिँदै, दुई जनाको नयाँ अनुभव

लोकपथ
117
Shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका चार प्रदेशसभा क्षेत्रमा वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भए । विजयीमध्ये दुईजना उम्मेदवार आफ्नै क्षेत्रमा दोहोरिएका छन भने अन्य दुई संविधानसभा सदस्य भर्खरै प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेशसभामा दोहोर्‍याउनेमा प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रत्नप्रसाद ढकाल र प्रतिनिधिसभा–२ प्रदेशसभा १ मा नेकपा (एकीकृत समाजवादी)बाट लक्ष्मण लम्साल छन् ।

यस्तै संविधानसभा सदस्य नेपाली कांग्रेसका तीर्थ लामा प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा क्षेत्र २ र प्रतिनिधिसभा–२ प्रदेशसभा २ मा कांग्रेसकै कञ्चनचन्द्र वादे श्रेष्ठ विजयी भएका छन् । उनीहरु वाग्मती प्रदेशसभाको संसदीय यात्राको पहिलो अनुभव लिने क्रममा छन् ।

प्रदेशसभा सदस्यमा दोहोरिएका ढकालले २० हजार सात सय २० मत प्राप्त गरी मुख्य प्रतिस्पर्धी एमालेका दिलबहादुर तामाङलाई नौ हजार चार सय ४२ मतान्तरले पराजित गरे । उनी २०३६ मा मण्डनदेउपुर नगरपालिका–७ मा जन्मिएका हुन् । विद्यालयमा अध्ययनरत देखिनै विद्यार्थी राजनीतिमा होमिएका लम्सालले विद्यार्थी फाँटको विभिन्न तह र तप्कामा रहेर जिम्मेवारी निर्वाह गरेका थिए।

व्यवस्थापन संकायमा स्नातकोत्तर प्रथम श्रेणी र कानुनमा नेपाल ल क्याम्पसबाट स्नातक गरेका लम्साल २०७४ मा प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनी हाल एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश कमिटीको सचिवको भूमिकामा छन् ।

यसैगरि ०७० मा संबिधानसभा सदस्य नेपाली कांग्रेसका लामा हाल प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा क्षेत्र २ मा हाल १९ हजार दुई सय ८० मत प्राप्त गरी एमालेका चन्द्र लामालाई जम्मा तीन मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका छन् । हाल उनी प्रदेशसभामा संसद्को अनुभव लिँदै छन् । विसं २०६४ मा नेपाली कांग्रेस प्रवेश गरेर राजनीति सुरु गरेका लामा सोही वर्ष पार्टीको क्षेत्रीय उपसभापतिमा मनोनित भए ।

त्यसयता क्षेत्रीय समिति सभापति हुँदै पार्टीको १४औँ महाधिवेशनमा उनी जिल्ला सभापतिमा निर्वाचित भएका छन् । विसं २०७० को संविधानसभा सदस्य निर्वाचनमा निर्वाचित भई उद्योग राज्यमन्त्रीसमेत भएका श्रेष्ठ हाल प्रतिनिधिसभा–२ अन्तर्गतको प्रदेशसभा २ मा विजय भएका छन् । उनले २६ हजार ३५ मत प्राप्तगरी निकटतम् प्रतिद्वन्द्वी एमालेका कुमार थापालाई चार हजार ७८ मतान्तरले पराजित गरेका हुन् ।

विसं २०२४मा बनेपामा जन्मिएका श्रेष्ठ २०३६ सालदेखिनै राजनीतिमा सक्रिय थिए । १५ वर्षको उमेरमा नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्य बन्नुभएका श्रेष्ठ २०४४ मा सङ्घको कोषाध्यक्ष, २०४७ मा सङ्घको जिल्ला सभापति भएका थिए । सङ्घको नेतृत्वपछि उनी २०५१ र २०५८ मा दुईपटक नेपाली कांग्रेस बनेपाको नगर सभापति बनेका थिए । यस्तै २०५८ मा नेपाल तरुणको जिल्लाध्यक्ष तथा २०६० सालमा तरुण दलको केन्द्रीय सदस्य भएका श्रेष्ठ नेपाल ट्रेडयुनियन कांग्रेस काभ्रेपलाञ्चोकको संस्थापक अध्यक्षसमेत छन् ।

श्रेष्ठ २०६४ मा नेपाली कांग्रेस जिल्ला समितिको कोषाध्यक्ष, २०५७ मा पार्टीको १०औँ र २०६१ को ११औँ महाधिवेशनमा महासमिति सदस्य तथा पार्टीको १२औँ र १३औँ महाधिवेशनमा ३ नं क्षेत्रीय सभापति र १४औँ महाधिवेनशनबाट वाग्मती प्रदेश महामन्त्रीमा निर्वाचित भए । २०३६ सालपछिका सबै जनआन्दोलनमा सहभागी श्रेष्ठले २०६२/२०६३ को जनआन्दोलन घाइते उपचार कोषको संयोजक भएर पनि काम गरे।

उनी २०५४ मा कांग्रेसको तर्फबाट बनेपा नगरको उपप्रमुखमा निर्वाचित भएका थिए । राजनीतिमा निरन्तर क्रियाशील श्रेष्ठ विभिन्न सामाजिक सङ्घ-सङ्गठनमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?