सञ्चारमन्त्रीले मतगणना कार्य अवरुद्ध पारेको एमालेका उम्मेदवारको आरोप

लोकपथ
247
Shares

सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका नेकपा (एमाले) का जगदिशप्रसाद कुसियतले आफूले हार्ने निश्चित भएपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा झिकिरहेको आरोप लगाएका छन् ।

मन्त्री कार्कीले मानसिक रुपमा आफू हार्ने निश्चित भएपछि अन्तिम समयमा आएर मतगणना नै हुन नदिएको उनको जिकिर थियो ।

सञ्चारमन्त्री कार्कीले शनिवार अपरान्ह धाँधली भएको भन्दै पुनः मतगणना गर्नुपर्ने माग राखेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलीय सहमति जुटाएर मतगणनाको कामलाई सुचारु गराउन आइतवार (आज बिहान) सर्वदलीय बैठक बोलाएको थियो ।

बैठकमा मन्त्री कार्कीले पुनः मतगणना हुनुपर्ने अडान राखेपछि अझै मतगणना कार्य अघि बढ्न सकेको छैन । एमाले उम्मेदवार कुसियतले भने बाँकी रहेको मत गणना कार्य तत्काल शुरु गर्न निर्वाचन आयोगसँग माग गरेको बताए ।

आफूहरुको सो अडान कानूनसम्मत भएको दाबी गर्दै उहाँले त्यसबाट पछि हट्न नसकिने पनि स्पष्ट पारे । उनले भने, ‘यहाँ हाम्रो भनाई के हो भने मतगणना जहाँ रोकिएको छ, त्यसलाई सुचारु गरौं । बाँकि रहेको मतगणना अविलम्व शुरु गरौँ । तर माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूको भनाई के हो भने अहिले निर्वाचन आयोगले गरेको मतगणना र उसले जुन सूचना प्रकाशित गरेको छ । त्यसलाई क्यान्सिल गरेर रिमतगणना गरौँ भनेर उहाँको जिकीर हो । त्यसैमा हाम्रो डिबेट चलिराखेको छ । एमालेको कानूनसम्मत अडान हो । हामीले कानूनलाई हातमा लिन खोजेका छैनौं । एमालेले स्पष्ट के भनेको छ भने कानूनमा के भन्छ ? जो मतगणना भयो । त्यसलाई छोडौं । बाँकि रहेको मतगणना शुरु गरौं । उहाँले सायद मानसिक रुपमा हार स्वीकार गरी सक्नुभएको छ । म हारिरहेको छु, त्यो हारलाई कसरी बचाउने भनेर उहाँले बखेडा झिक्नुभएको मात्रै हो ।’

यता, मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवै पक्षका उम्मेदवारहरुबीच सहमति जुटाएर मतगणना कार्य सुचारु गराउन पहल भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?