काठमाडौं । नेपाली कांग्रेसका युवा नेता सविन तामाङले राजनीतिमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।
मंसिर ४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं ७ प्रदेशसभा ‘ख’ बाट उम्मेदवार बनेका तामाङले मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै अर्को पटक प्रदेशसभाको उम्मेदवार नबन्ने घोषणा समेत गरेका छन् ।
शनिबार बाम लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित मतदातालाई धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले युवा भए पनि नयाँ आउनेहरुलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए ।
‘अर्को निर्वाचनमा प्रदेशसभामा मेरो दाबी रहन्न । एउटै पदका लागि पटकपटक एकै व्यक्तिले दाबी गरिरहनु न्यायोचित हुँदैन । त्यसैले मैले पराजयपछि सोही पदमा नलड्ने घोषणा गरेको छु ।’ तामाङले भने ।
आफूहरुले माथिल्लो तहका नेताहरुले ठाउँ छाडेनन् भनेर भनिरहने तर आफूहरुले तलबाट पनि ठाउँ नछाड्ने हो भने राजनीतिमा युवाहरुबीच पनि पुस्तान्तरण नहुने उनको भनाइ रहेको छ । आफू भन्दा कान्छो पुस्ता राजनीतिमा थप सक्रियताका साथ आएको बताउँदै आफूभन्दा पनि युवाहरुको लागि ठाउँ छाड्न लागेको बताए ।
‘युवा उमेरले भएर मात्रै भएन नेताहरुले ठाउँ छोडेन हामी भन्ने अनि हामी पनि ठाउँ ओगटेर बस्नु उचित हुन्न । आफैले त्यसको सुरुवात गर्नुपर्छ । त्यसैले मैले प्रदेश सभाको दौड हाम्रै पार्टीभित्र काम गरिरहेका युवा साथीहरुलाई अघि बढाउनुपर्छ ।’ तामाङ बताउँछन् ।
साथै आफूले बाँकी राजनीति कांग्रेसमै रहेर गर्ने बताए ।
संघीयता कार्यान्वयनलाई मुख्य एजेण्डा बनाउँदै मत मागेका तामाङले आफूले पराजय भोगे पनि जनताको माझमा सधैँ रहने बताए । आफूले घोषणापत्रमा उल्लेख गरेका सबै प्रतिबद्धताहरु पूरा गर्नका लागि लागि पर्ने बताए ।
‘मैले उम्मेदवारको रुपमा जनताहरु सामु धेरै बाचा गरेको छु, प्रतिबद्धता गरेको छु । जनताको काम गर्नका लागि मलाई निर्वाचनको मतले रोक्दैन । म आफूले गरेका बाचाहरु पूरा गर्न लागि पर्नेछु ।’ उनले भने ।
मंसिर ४ को निर्वाचनमा तामाङले सो क्षेत्रबाट ८० मतले पराजय भोगेका थिए । उनले ५ हजार १ सय ३७ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका प्रकाश श्रेष्ठले ५ हजार २ सय ५८ मत ल्याएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया