राप्रपा उपाध्यक्ष विक्रम पाण्डे चितवन–३ बाट विजयी

लोकपथ
0
Shares

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का भोजराज अधिकारीले २५ हजार ८२२ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार ८४२ मत ल्याउँदा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार २७५ मत ल्याएबा छन् । यो क्षेत्रबाट अघिल्लो पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विजयी भएका थिए । त्यो बेला पाण्डे नै दाहालका निकटतम प्रतिद्वन्द‍्वी रहेका थिए ।

यो पटक पाण्डेले सत्तारूढ गठबन्धनका उम्मेदवार रहेका माओवादी केन्द्रकै डा.भोजराज अधिकारीलाई पराजित गरेका हुन् । ०५६ सालयताका संसदीय र संविधानसभाका हरेक निर्वाचनमा राप्रपाबाट उम्मेदवार हुँदै आएका पाण्डेको यो दोस्रो जित हो । पाण्डे यसअघि ०७० सालको संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन चितवन–५ बाट विजयी भएका थिए ।

०७४ सालको निर्वाचनमा कांग्रेसको समर्थनमा चितवन–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका पाण्डे वाम गठबन्धनबाट उम्मेदवारमाओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग पराजित भएका थिए । यो निर्वाचनमा दाहाल चितवन छाडेर गोरखा गए ।

पाण्डेले बिना कुनै गठबन्धन सत्तारूढ गठबन्धनबाट उठेका माओवादी केन्द्रका डा.अधिकारीलाई पराजित गर्नुका साथै उनको पार्टी राप्रपाका उम्मेदवार, चितवन–३ को प्रदेशसभाका दुईमध्ये एउटामा विजयी भए । अर्को क्षेत्रमा निकटतम प्रतिस्पर्धी रहे । यो सँगै चितवनका प्रतिनिधिसभाका सबै तीन क्षेत्रको नतिजा आएको छ । चितवन १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?