तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित

लोकपथ
754
Shares

तेह्रथुम । तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसकी नेतृ सीता गुरुङ विजयी भएकी छन् । लोकतान्त्रिक–वाम गठबन्धनकी उम्मेदवार गुरुङले नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै विजयी भएकी हुन् । उनले १९ हजार ७ सय २ मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार सुब्बाले १८ हजार ६ सय २३ मत प्राप्त गरेका छन् ।

०७४ को निर्वाचनमा हालका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग २ हजार २१ मतले पराजित गुरुङ दोस्रो प्रयासमा यस पटक विजयी भइन् । जिल्लामा नेकपा एमालेका हेबीवेट नेता खापुङले पार्टी छोडेर उम्मेदवारी नदिएपछि गुरुङलाई चुनाव जित्न सहज भएको हो । यसअघि दुई पटकसम्म प्रत्यक्ष चुनाव जितेका र एक पटक समानुपातिक सूचीबाट सांसद बनेका एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सुब्बा तेस्रो पटक चुनाव जितेर संसद् छिर्ने प्रयासमा असफल बने ।

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा निकट कांग्रेस केन्द्रीय सदस्य गुरुङ ०६४ र ०७० को संविधानसभा निर्वाचनपछि समानुपातिक सदस्य थिइन् । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?