सिरहा । मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २३ स्थानको नतिजा सार्वजनिक भएको छ ।
अब प्रदेशका विभिन्न जिल्लाका ९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ ।
निर्वाचन आयोगले आज साँझ ५ः३० बजेसम्म सार्वजनिक गरेको परिणामअनुसार सबैभन्दा बढी नेकपा (एमाले) ले छ स्थानमा जितेको छ । यसैगरी नेपाली कांग्रेसले पाँच, जनता समाजवादी पार्टी (जसपा) ले चार, लोसपाले ३, एकीकृत समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्रले तीन स्थानमा जित निकालेको छ । एमालेका उम्मेदवार छ स्थानमा निर्वाचित भएका छन् । सिरहा–१ मा रामशङ्कर यादव, धनुषा–३ मा जुली महतो
(महासेठ), सर्लाही–३ मा हरिप्रसाद उप्रेती, बारा–१ मा अच्युतप्रसाद मैनाली, पर्सा–३ मा राजकुमार गुप्ता र सिरहा–३ मा लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सप्तरी–३ मा दिनेशकुमार यादव, धनुषा–२ मा रामकृष्ण यादव, रौतहट–४ मा देवप्रसाद तिमलसेना, पर्सा–२ मा अजयकुमार चौरसिया र पर्सा–४ मा रमेश रिजाल निर्वाचित हुनुभएको छ । कांग्रेस उम्मेदवार सप्तरी–४, धनुषा–४ र महोत्तरी–४ मा अगाडि छन् ।
जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सप्तरी–१ मा नवलकिशोर साह, सिरहा–४ मा डा वीरेन्द्रप्रसाद महतो, सिरहा–४ मा वीरेन्द्रप्रसाद महतो र पर्सा–१ मा प्रदीप यादव निर्वाचित भएका छन् । सिरहा–२ र धनुषा–१ मा जसपा उम्मेदवार अगाडि छन् ।
नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महोत्तरी–१, सर्लाही–२ र बारा–२ मा गरी तीन स्थानमा अगाडि छन् ।
लोकतान्त्रिक समाजवादीका उम्मेदवार महोत्तरी–२ मा शरदसिंह भण्डारी महोत्तरी–३ र सर्लाही–१ मा रामप्रकाश चौधरी निर्वाचित हुनुभएको छ । महोत्तरी–३ लोसपा अध्यक्ष महन्थ ठाकुर अगाडि रहेका छन्।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल रौतहट–१ बाट विजयी भएका छन् । बारा–४ मा कृष्णकुमार श्रेष्ठ अगाडि रहेका छन् । जनमत पार्टीका अध्यक्ष डा सिके राउत सप्तरी–२ बाट निर्वाचित भएका छन््। त्यसैगरी स्वतन्त्र उम्मेदवारमध्ये सर्लाही–४ मा अमरेशकुमार सिंह, रौतहट–२ मा किरणकुमार साह र रौतहट–३ मा प्रभु साह विजयी भएका छन् ।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार मधेस प्रदेशका आठ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि एक हजार पाँच सय ९८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधिसभातर्फको ३२ सिटका लागि विभिन्न दलका दुई सय ९३ र स्वतन्त्र दुई ९७ गरी पाँच ९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया