सङ्खुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित भएका छन् । कांग्रेसका खड्काले ३२ हजार एक सय ५८ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिए।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले २६ हजार सात सय १९ मत ल्याएका छन्। खड्काले पाँच हजार चार सय ३९ मतान्तरले विजयी हुनुभएको हो । विसं २०७० को निर्वाचनमा खड्काले एमालेका गौतमलाई पराजित गरेका थिए। खड्का कांग्रेस सङ्खुवासभाका जिल्ला सभापतिसमेत रहेका छन्।
जिल्लामा प्रतिनिधिसभातर्फ ६५ हजार तीन सय ३७ मत खसेको थियो । त्यसमध्ये दुई हजार सात सय ५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभामा दुई स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दिएका थिए । प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का राजेन्द्र कार्की (नविन) निर्वाचित भएका छन्। कार्कीले १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित भएका छन्। उनले ३४ मतान्तरले विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याएका छन्।
पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१) मा ३१ हजार पाँच सय चार मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया