झापाबाट छैटौँ संसद यात्रामा ओली : प्रतिकूलताबीच पनि आत्मविश्वासमा टिक्ने क्षमता

लोकपथ
221
Shares

नेकपा एमालेका अध्यक्ष केपी ओली आइतवार सम्पन्न निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका डा खगेन्द्र अधिकारीलाई २८ हजार ७४३ मतान्तरले पराजित गरे । ओलीले ५२ हजार ३ सय १९ मत ल्याउँदा अधिकारीले २३ हजार ७ सय ४३ मात्र मत पाए । पाँच वर्षअघि २०७४ को निर्वाचनमा पनि अधिकारीलाई नै हराउँदै ओली सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

समकालीन राजनीतिमा वाकपटूताका धनी ओलीलाई आफ्नो निर्वाचन क्षेत्रबाट जीत निकाल्न गाह्रो नभए पनि सत्ता गठबन्धनको चौतर्फी घेराबन्दीका बीच आफ्नो दल नेकपा एमालेलाई संसदमा सम्मानजनक स्थितिमा उपस्थित गराउने चुनौती थियो । त्यसक्रममा आफू ठूलो मतान्तरसहित निर्वाचित हुँदै दललाई पनि गठबन्धनले सोचेभन्दा बलियो रुपमा उपस्थित गराउन सफल देखिएका छन् ।

तेह्रथुममा २००८ सालमा जन्मेका ओली २०२० सालमा झापामा झरेका थिए । २०२३ सालमा माक्र्सवादी अध्ययन दलमा संगठित भई राजनीति थालेका उनी २०२५ सालदेखि पूर्णकालिन राजनीतिक कार्यकर्ताको रुपमा संलग्न रहे र २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए । २०२७ जेठ मा भूमिगत जीवन थालेका उनी २०३० सम्ममा दशौं पटक गिरफ्तारीमा परेका थिए ।

२०२८ सालमा झापा आन्दोलन संगठन कमिटीको प्रमुखमा मनोनित उनी २०३० मा राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको आरोपमा गिरफ्तार भए र १४ बर्ष जेल सजायँ भोगे । जेलमै रहँदा २०३५ मा गठित नेकपा (माक्र्सवादी–लेनिनिवादी) को संस्थापक रहेका उनी २०४४ असारमा जेलबाट रिहा भए र सोही वर्ष पार्टीको केन्द्रीय सदस्यमा मनोनित भए । २०४६ मा माले लुम्बिनी अञ्चलको ईञ्चार्ज, २०४७ जेठ १ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको अध्यक्ष बनेका उनी २०४७ पुसमा एकीकृत भई बनेको नेकपा एमालेको संस्थापक केन्द्रीय सदस्य रहे ।

बहुदलीय व्यवस्था स्थापनापछि २०४८ मा गरिएको पहिलो आम निर्वाचनमा झापाबाट संसद सदस्यमा निर्वाचित ओली त्यसयता २०६४ बाहेक २०५१, २०५६, २०७० र २०७४ मा गरी छ पटक विजयी भएका छन् । संविधानसभाको पहिलो निर्वाचन २०६४ मा भने पराजित भएका उनी यस पटकसम्म छ पटक झापाबाट संसदमा पुगिसकेका छन् ।

पार्टीमा संसदीय विभागको प्रमुख, स्थायी समिति सदस्य एवं विदेश विभाग प्रमुख, संसदमा प्रमुख प्रतिपक्षी दलको उपनेता, पार्टी स्कूल विभाग प्रमुख हुँदै २०७० मा संविधान सभामा दलको नेता चुनिएका ओली २०७१ मा सम्पन्न नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भए ।

२०५१ को एमाले सरकारमा गृहमन्त्री, २०६३ मा उपप्रधान एवं परराष्ट्र मन्त्री, २०७२ असोजमा पहिलो पटक प्रधानमन्त्री निर्वाचित भएका ओली, नयाँ संविधान बनेपछि गरिएको संसदको निर्वाचनपछि झण्डै दुई तिहाई सांसदको समर्थनसहित २०७४ फागुनमा दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भए । तर पार्टीभित्रको झगडाले संविधानको व्यवस्था विपरित दुई÷दुई पटक संसद विघटन गर्ने बाटोमा लाग्दा अन्ततः २०७८ असार २९ मा प्रधानमन्त्रीबाट बाहिरिनु प-यो ।

आफ्ना विपक्षीप्रति कटू आलोचक देखिने ओलीले, मूलतः मधेश आन्दोलनका समयमा भारतले थोपरेको नाकाबन्दीको डटेर सामना गरेको तथा चुच्चे नक्शा प्रकाशन गरेका कारण प्रशंसा पाएका छन् । यसैलाई उनले राजनीतिक लाभका लागि प्रयोग गर्ने गरेका छन् ।

२०७४ को निर्वाचनमा कम्युनिष्ट दलबीच गठबन्धन बनाई कांग्रेसलाई एक्लाएर चुनावमा गएका ओलीले संसदमा झण्डै दुई तिहाईको शक्ति बनाए र आफू प्रधानमन्त्री बने । तर आधा आधा कार्यकाल भागबण्डा गर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको सहमति लागू गर्न बढेको दबाब नमान्दा अन्ततः नेकपा मात्रै फूटको चरणमा पुगेन, स्वयं एमाले नै दुई चिरा बन्यो ।

हुँदाखाँदाको दुई तिहाई जोगाउन नसकेको, दुई दुई पटक संसद विघटन गरेर संविधान उल्लंघन गरेको जस्ता आरोपले घेरिएका ओली यस पटक पनि एमालेलाई बहुमत दिन भन्दै जनताबीच गएका थिए । उनको दललाई बहुमत नै आउने अवस्था नभए पनि बदलिँदो संसदीय समीकरणमा कसको सरकार बन्नेछ वा ओलीले कस्तो खेल खेल्नेछन् भन्ने आउने दिनमा नै देखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?