लिङ्देनलाई बधाई दिँदै सिटौलाले भने- ‘जनताको सेवा गर्न चुनावको नतिजाले रोक्दैन’

लोकपथ
377
Shares

झापा । झापा क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार बनेका कांग्रेस कृष्ण सिटौलाले सो क्षेत्रबाट निर्वाचित संघ र प्रदेशका सांसदहरुलाई बधाई दिएका छन् ।

पराजित भएसँगै आफैँसँग प्रतिष्पर्धा गरेका राप्रपाका राजेन्द्र लिङ्देनसहित प्रदेशमा निर्वाचित भुमीप्रसाद राजवंशी र छविलाल चुडाललाई बधाई दिएका हुन् । साथै निर्वाचितहरुको सहभागिताले लोकतन्त्रलाई बलियो बनाउने समेत विश्वास व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा निर्वाचित राजेन्द्रप्रसाद लिङ्देन एवं प्रदेश सभामा निर्वाचित भुमीप्रसाद राजवंशी र छबिलाल चुडाललाई म बधाई एवं शुभकामना व्यक्त गर्दछु। नेपालीहरुको चाहना बमोजिम देश विकासमा लाग्न तपाईंहरुलाई सँधै प्रेरणा मिलीरहोस्। निर्वाचनमा सहभागी सम्पूर्ण मतदाताहरुलाई म धन्यवाद दिन चाहन्छु। तपाईंहरुको यो सहभागिता नै लोकतन्त्रको बलियो आधार हो।’

चुनावमा हारजित स्वभाविक रहेको बताउँदै आफूलाई सो क्षेत्र र देशको सेवामा चुनावको परिणामले नरोक्ने बताए ।

आफूले पाएको ३७ हजार ३ सय ७२ मत नै देश विकास र समृद्धिमा लाग्ने मुख्य हौसला भएको बताएका छन् ।

उनले भने, ‘चुनावमा हार जीत त हुन्छ नै। तर आफ्नो क्षेत्रको, यहाँका जनताको र देशको अनवरत सेवा गर्नबाट मलाई कुनै चुनावको नतिजाले रोकेको थिएन, र भविष्यमा पनि रोक्ने छैन। अग्रगमनको पक्षमा मलाई मत दिनु हुने ३७३७२ को म प्रतिको विश्वास र माया नै मेरो जीत हो। यसले नै मलाई क्षेत्र र देशको विकास र समृद्धिका लागी डटिरहन अझ हौसला दिएको छ।’

सो क्षेत्रबाट २०७४ र गत निर्वाचनमा राप्रपाका लिङ्देनसँग सिटौलाको मुख्य प्रतिष्पर्धा भएको थियो । यद्यपि दुवै निर्वाचनमा सिटौलाले पराजय भोगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?