काठमाडौं । धादिङ निर्वाचन क्षेत्र नं १ बाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे निर्वाचित भएका छन् । झण्डै आठ हजार मतान्तरहित उनी निर्वाचित भएका हुन् । पाण्डेले ३५ हजार नौ सय ३४ मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गरे ।
विसं २०१३ जेठ २८ गते धादिङको गजुरी–८ छेपाङमा जन्मिएका पाण्डे २०३२ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् । पाण्डे विद्यार्थी राजनीतिबाट उदाएका हुन्। तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दा उनले एक वर्ष भूमिगत र चार वर्ष छ महिना बन्दी जीवन बिताएका छन् । उनले १० वर्ष आदर्श माध्यमिक विद्यालय, गजुरीमा शिक्षण गरेका थिए ।
बुबा स्व नेत्रराज र आमा स्व मनमायाका जेठो छोराका रुपमा जन्मनुभएका पाण्डेले सीता थपलियासँग विवाह गरेका हुन् । उनका तीन छोरा छन् । पाण्डेले त्रिभुनव विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर उतीर्ण गरेका छन् ।
पाण्डे २०४८, २०५१, २०५६ र २०७० सालको संसदीय निर्वाचनमा धादिङबाट निर्वाचित भएका थिए । विसं २०६४ मा संविधानसभा सदस्यको निर्वाचनमा भने उनी पराजित भएका थिए । विसं २०५१ मा पाण्डे नेकपा एमालेको संसदीय दलको सचेतक, २०५३ सालमा प्रमुख सचेतक र २०६३ सालमा स्थानीय विकासमन्त्री बनेका थिए । विसं २०५० मा उनी एमालेको बागमती अञ्चल सचिव र २०५५ सालमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
पाण्डे २०७० सालको संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । विसं २०७४ मा उनी धादिङ निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट बागमती प्रदेशसभामा निर्वाचित भएका थिए । विसं २०७८ मा उनी बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए । एमालेको विभाजनसँगै उनी नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष छन् ।
पाण्डको ‘चीन भ्रमण एक अनुभव अनेक’ कृति प्रकाशित छ । उनले चीन, भारत, बेलायत, फ्रान्स, स्वीटजरल्याण्ड, बेल्जियम, हल्याण्ड, लक्जम्वर्ग, इटली, अमेरिका, भेनेजुएला, ब्राजिल, दक्षिण कोरिया, जापान र अष्ट्रेलियाको भ्रमण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया