नेपाली राजनीतिका शेर अर्थात् शेरबहादुर !

लोकपथ
168
Shares

डडेलधुराबाट नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत ल्याई विजयी हुँदा आफ्ना निकटतम प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई १२ हजार ४९२ मतान्तरले हराएका हुन् । पराजित ढकालले भने १३ हजार ४२ मत ल्याए । देउवालाई टक्कर दिने ठानिएका कांग्रेस बीपीका कर्ण मल्ल भने तेस्रो स्थानमा सीमित रहे ।

मुलुकमा २०४६ सालमा बहुदलीय ब्यवस्था पुनस्र्थापना भएपछि गराइएका २०४८ सालयताका सबै निर्वाचनमा पराजित नभई निर्वाचित हुने देउवा एक मात्र नेता हुन् । उनले डडेलधुराबाट सातौं पटक संसदीय निर्वाचन जितेका हुन् । पाँचौं पटक देशको प्रधानमन्त्री बनेर शासन सत्ता सम्हालिरहेका देउवा यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ भएका सबै निर्वाचनमा निर्वाचित भएका थिए ।

यसअघिका निर्वाचनमा मुख्य प्रतिष्पर्धी एमाले र माओवादीका उम्मेदवार पाइरहेका देउवाले यस पटक भने गुल्मीबाट गएका युवा स्वतन्त्र उम्मेदवार सागर ढकालको चुनौती ब्यहोर्नुप-यो । ज्योतिषीले सात पटकसम्म प्रधानमन्त्री बन्ने योग छ भनेका देउवालाई मौका पर्दा अझै अर्को पटक प्रधानमन्त्री वा राष्ट्रप्रमुख बन्ने मौका सम्मुखमा देखिन्छ ।

सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका देउवाले विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका हुन् । नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमध्ये पर्ने उनीमाथि ‘प्रजातन्त्र दरबारलाई बुझाएको’ आरोप पनि लाग्ने गरेको छ । नेपाल विद्यार्थी संघको संस्थापक उनी पछि सभापति बने । पञ्चायतविरोधी राजनीतिका क्रममा पटक पटक जेल परेका देउवालाई राजा ज्ञानेन्द्र शाहको शासनकालमा पनि भ्रष्टाचार अभियोगमा जेलमा थुनिएको थियो ।

करिब नौ वर्ष जेल जीवन बिताएका देउवा २०४६ सालको जनआन्दोलनपछि सुदूरपश्चिम क्षेत्रमा नेपाली कांग्रेसको मूल नेताको भूमिका देखिए ।

२०४८ सालमा डलेलधुराबाट सांसद चुनिएका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बने । २०५१ सालको मध्यावधि निर्वाचनपछि भाग्योदय भएका देउवा संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता मात्र चुनिएनन्, २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बन्न सफल भए ।

नेपालको संसदीय व्यवस्थामा निकै आलोचित बनेका ‘सुरा–सुन्दरी, पजेरो काण्ड’ मात्र होइन, सबैभन्दा धेरै मन्त्री सामेल गरेर मन्त्रिमण्डल गठन गरेका जस्ता घटना उनको कार्यकालसँग जोडिएर आउँछन् । २०५२ सालमा उनी नै प्रधानमन्त्री रहेका बेला माओवादीले मुलुकमा सशस्त्र हिंसाको थालनी गरेको थियो ।

२०५६ सालमा डडेलधुराबाटै सांसद निर्वाचित देउवा २०५८ साल साउनमा दोस्रो पटक प्रधानमन्त्री बने । त्यसै वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले उनलाई पदच्युत गरे । तर ज्ञानेन्द्रको उक्त कदमविरुद्ध आन्दोलन भएपछि २०६१ साल जेठमा राजाले देउवालाई फेरि प्रधानमन्त्रीमा पुनस्र्थापित गरेका थिए । तर ज्ञानेन्द्रले २०६१ साल माघ १९ फेरि सत्ता आफ्नो हातमा लिँदै देउवालाई पदच्यूत मात्र गरेनन्, भ्रष्टाचारको अभियोगमा जेल नै पठाए ।

तर शाही आयोग गठन गर्नेलगायत ज्ञानेन्द्रले चालेका कदम असंवैधानिक भएको ठहर सर्वोच्च अदालतले गरिदिएपछि देउवा जेलमुक्त भए । देशमा संकटकाल लगाउनेबारेमा सभापति गिरिजाप्रसाद कोइरालासँग विवाद चर्केपछि २०५९ सालमा फुटाएर बनाएको नेपाली कांग्रेस (प्रजातान्त्रिक) लाई देउवाले २०६२÷६३ सालको जनआन्दोलनपछि २०६४ सालमा कांग्रेसमै बिलय गराए ।

गणतन्त्र स्थापनापश्चात् २०७४ सालमा चौथो पटक प्रधानमन्त्री बनेका देउवाले नयाँ संविधान अन्तर्गतको पहिलो आम निर्वाचन गराए । तर उक्त चुनावमा कांग्रेसको लज्जास्पद हार भयो । तैपनि आन्तरिक द्वन्द्वका कारण कम्युनिष्ट पार्टीको नाममा बनेको दुई तिहाईको सरकार छिन्नभिन्न भएपछि देउवा पाँचौं पटक देशको प्रधानमन्त्री बने । उनैको नेतृत्वले गराएको निर्वाचनमा उनी सातौं पटक सांसद निर्वाचित भएका हुन् ।

पार्टीको १३ औं र १४ औं महाधिवेशनबाट सभापति चुनिएका देउवा सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरन्याश्नलको उपाध्यक्ष समेत रहेका थिए । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक उनी लन्डन स्कूल अफ इकनिमिक्समा राजनीतिशास्त्रको रिसर्च फेलो पनि रहेका थिए ।

कम्युनिष्ट पार्टीको विभाजन, सर्वोच्च अदालतको परमादेशसमेतका कारण पाँचौं पटक प्रधानमन्त्रीको कुर्सीमा पुगेर आफ्नै नेतृत्वमा गराएको निर्वाचनबाट कांग्रेस ठूलो दलका रुपमा देखिँदै गर्दा आगामी पाँच वर्षे संसदीय कालमा उनले आफ्ना उत्तराधिकारी स्थापित गर्दै पार्टीको दीर्घकालीन हित सोच्ने छन्, वा फेरि एक पटक कुर्सीमा पुग्ने सत्तालालच त्याग्न सक्ने छैनन् भन्नेचाहिँ आगामी दिनमा देखिने नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?