ईन्जिनियर मोहन आचार्य : कस्तो कोर्लान् रसुवाको नक्शा ?

लोकपथ
266
Shares

एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला रसुवाकबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । आफ्ना प्रतिष्पर्धीको भन्दा दोब्बर बढी मत ल्याएर आचार्य आगामी पाँच वर्षका लागि सांसद पदमा निर्वाचित भएका हुन् । आचार्यले १८ हजार २३५ मत ल्याएका छन् भने उनका निकट प्रतिष्पर्धी नेकपा एमालेका छोवाङ तेन्जिन तामाङले ८ हजार ६१४ मात्र मत ल्याउन सके ।

२०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटक जितको झण्डा फहराउने क्रममा आफ्ना प्रतिष्पर्धीलाई ९ हजार ६२१ मतले पछि पारेका हुन् । पाँच वर्षअघिको निर्वाचनमा भने उनले वाम गठबन्धनका तर्फबाट एमालेकै जनार्दन ढकाललाई पराजीत गरेका थिए ।

२०४८ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीतिक यात्रा आरम्भ गरेका उनले कांग्रेसका जिल्ला स्तरका विभिन्न संगठनमा रहेर जिम्मेवारी निर्वाह गरेका छन् । २०७२ मा नेपाली कांग्रेस महासमिति सदस्य रहेका उनी २०७८ मा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । निर्माण व्यवसायी ४६ वर्षीय आचार्य इन्जिनियर हुन् ।

कांग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवम् दिगो परियोजना केन्द्रित बिशेष समितिको सदस्यसमेत रहेका आचार्य रसुवामा निर्वाचित भएसँगै ‘समृद्ध रसुवा’ निर्माण अभियानमा जुटिरहेका पनि छन् । विस २०३३ चैत २९ गते रसुवाको लहरेपौवामा बुबा अनन्तप्रसाद र आमा ईश्वरीदेवी आचार्यबाट जन्मिएका सांसद आचार्य परिवारका कान्छा छोरा हुन् ।

काठमााडौंको सिद्धार्थ बनस्थलीमा विद्यालय शिक्षा अध्ययन गरेका सांसद आचार्य २०४६ सालको जनआन्दोलनमा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमार्फत सक्रिय थिए । भारतको देहरादुनबाट उच्च शिक्षा हासिल गरेका आचार्य फिलिपिन्सबाट सिभिल इन्जिनीयरिङ पढाई पूरा गरेर विस २०५६ सालमा स्वदेश फर्केलगत्तै कांग्रेस राजनीतिमा सक्रिय भएका थिए ।

समुन्नत रसुवा, सम्मानित रसुवाली नाराका साथ चुनावमा होमिएका आचार्यको जीतसँगै उनले उठाएका विकास, पर्यटन, शिक्षा, स्वास्थ्यका एजेण्डाले मूर्तरुप पाउनेमा आम रसुवाली मतदाताको अपेक्षा रहेको छ । अन्तर्राष्ट्रिय सीमा नाकादेखि जिल्लामा बनेका र बन्नसक्ने अनेकन हाइड्रो पावर, सहासिक पर्यटनदेखि अर्गानिक कृषिसम्ममा अवसर सुजना गर्नसके रसुवाली युवामा रहेको बेरोजगारीको समस्या पनि कम गर्न सकिने अवसर उनका अगाडी छ भने भ्रष्टाचार, समयमा काम नहुनेलगायतका प्रवृत्ति उनलाई चुनौती बनेर उभिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?