प्रधानमन्त्रीको तृष्णा बोकेर छैटौँ पटक संसद पुगेका पौडेल

लोकपथ
156
Shares

०७४ को निर्वाचनमा वाम गठबन्धनसँग पराजित रामचन्द्र पौडेल ०७९ को प्रतिनिधि सभाको निर्वाचनबाट जित हासिल गरेका छन् । कांग्रेस वरिष्ठ नेता रहेका पौडेलले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरले विजयी भइ छैटौँ पटक संसद प्रवेशको अनुमति पाएका हुन् ।

यसअघि पौडेल, विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि तनहुँ–२ बाट विसं २०५१, २०५६, २०६४ र २०७० मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । २०७४ को निर्वाचनमा भने पौडेल तत्कालिन वामगठबन्धनका कृष्णकुमार श्रेष्ठसँग ६ हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत तनहुँ–१ बाट निर्वाचित भएर पौडेलले छैटौँ पटक संसद्को यात्रा तय गरेका हुन् । यसका लागि पौडेलले नेकपा (एमाले) का एकबहादुर रानालाई ५ हजार ३ सय ७५ मतान्तरले पराजित गरे ।

कूल खसेको ६६ हजार एक सय ५८ मतमा पौडेलले २५ हजार ३ सय १८ मत प्राप्त गर्दा प्रतिस्पर्धी रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गरेक । जहाँ चार हजार मत बदर भयो । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ८ सय ७८, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८ सय ७८, राप्रपाका विनोद घर्तीले दुई हजार चार सय ८३ मत प्राप्त गरेका छन् ।

जिल्लाका अधुरा विकास योजनालाई निरन्तरता दिन उम्मेदवार बनेको बताउँदै आएका पौडेलको मनमा गढेर बसेको तृष्णा भने एक पटक कार्यकारी पद प्रधानमन्त्रीमा पुग्नुछ । यसैका लागि केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धन बनाउन उनले ठूलो मिहिनेत पनि गरे ।

विसं २००१ को असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मिएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका थिए । सानैबाट विद्रोही स्वभावका पौडेल कांग्रेसले २०१८ सालमा सञ्चालन गरेको सशस्त्र क्रान्तिमा सहभागि बनेका थिए ।

देशमा पञ्चायती शासनको जगजगी रहेका बेला राजनीतिमा थप सक्रिय बनेका पौडेल २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भए । २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनामा पौडेलको सक्रिय सहभागिता थियो । पञ्चायत विरोधी आन्दोलनमा कांग्रेसका संस्थापक नेताहरुसँगको उठबसमा रहेका पौडेलको संसदीय राजनीतिक यात्रा ०४८ सालबाट शुरु भएको हो ।

२०४८ सालमा तनहुँ क्षेत्र नं १ बाट पहिलो पटक निर्वाचित भई प्रतिनिधि सभामा पुगेका पौडेल सातौं पटक चुनावी मैदानमा गएका हुन् । ६ जीत र एक हार ब्यहोरेका उनले यसबीचमा उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्रीको कार्यभार सम्हालेका छन् । यही बीचमा उनले सभामुखको जिम्मेवारी पनि निभाए ।

त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर पौडेलले माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति सचिवालयको संयोजक पनि रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?