काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका हुन् । पौडेलले ५ हजार ६५ मतान्तरले पोखरेललाई पराजित गरेका हुन् ।
पौडेलले १५ हजार २३७ मत ल्याउँदा पराजित पोखरेलले १० हजार १७२ मतमा चित्त बुझाउनु प¥यो । यसअघि पाँच वर्षअघि २०७४ सालमा भएको निर्वाचनमा सो क्षेत्रमा पोखरेल विजयी भएका थिए । २०५१ सालदेखि नै विभिन्न राजकीय पद सम्हाल्दै, पटक पटक मन्त्री र उपप्रधानमन्त्रीसमेत भइसकेका एमालेका दोस्रो वरियताका नेता पोख्रेललाई पौडेलले पहिलो पटक नै पराजित गर्न सफल भएका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य पौडेल गत वर्षसम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा प्रतिपष्र्धी रहेका थिए । १३ औं महाधिवेशनमा सर्वाधिक पाँचौं मतसहित केन्द्रीय सदस्यमा निर्वाचित पौडेल यसअघि मनोनित केन्द्रीय सदस्य बनेका थिए । आफ्नो राजनीतिक जीवन भने कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघबाट थालेका उनी उक्त संगठनको केन्द्रीय सभापतिसमेत भइसकेका छन् ।
अमृत साइन्स कलेजबाट विद्यार्थी नेताका रुपमा उदाए उनी २०५३ मा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित भएका थिए । २०५७ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य रहेका पौडेल त्यसयता नेपाल विद्यार्थी संघको उपाध्यक्षको जिम्मेवारीमा समेत रहेका थिए । २०६४ पछि भने उनी नेवि संघको केन्द्रीय अध्यक्षको भूमिकामा रहे ।
पाँच वर्षअघि २०७४ सालमा सम्पन्न आमनिर्वाचनमा पौडेल तनहुँ क्षेत्र नम्बर २ (क) बाट गण्डकी प्रदेश सभाका प्रदेश सभा सदस्यका लागि उम्मेदवार रहेका थिए । तर नेकपा माओवादी केन्द्रका उम्मेदवारसँग जम्मा पाँच मतले पराजीत बन्नपुगे ।
पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले गरेका अलोकतान्त्रिक अभ्यास र भ्रष्टाचारविरुद्ध आवाज उठाउनेहरूमा अग्रपंक्तिमा रहेका पौडेल २०६२÷२०६३ को आन्दोलनमा अग्रमोर्चामा रहेर भूमिका खेलेका थिए ।
प्रखर राजनीतिक वक्ताको परिचय बनाएका पौडेलसँग युवा पुस्ताले निकै आशा गरेको छ । मूलतः भ्रष्टाचार र दण्डहीनताले जर्जर बनाएको नेपाली राजनीति र समाजलाई सदाचारी बाटोमा ल्याउनुपर्ने जिम्मेवारी पौडेललगायत युवा नेताको काँधमा पुगेको छ ।
उनीसहित संसदमा निर्वाचित धेरै युवा सांसदहरुसँग नेपाली जनताको अपेक्षा चुलिएको सन्दर्भमा पौडेलले सदनमा सरकारलाई सचेत गर्ने र जनताका आवाज मुखर गर्ने भूमिका निभाउन सकून् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया