वैज्ञानिक सिके राउत : अलगावको दूष्प्रयासदेखि मधेश मसिहाको हारको कारणसम्म

लोकपथ
140
Shares

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत प्रतिष्पर्धी जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतान्तर हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

९५ हजार मतदाता रहेको सप्तरी २ मा राउतले कूल खसेको ६४ हजार २१९ मतमा ३५ हजार ४२ ल्याएर जित्दा जसपा अध्यक्ष यादवले १६ हजार ९७९ मात्र ल्याउन सके । तेस्रो स्थानमा रहेका गठबन्धन उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले भने ७ हजार ३४७ मतमै चित्त बुझाउनु परेको छ । सबैलाई चित खुवाउने परिणाम ल्याउँदै संघीय संसदमा राउत विजयी हुँदा क्षेत्रका दुबै प्रदेशमा पनि आफ्नै उम्मेदवारलाई जिताउन सफल भए ।

कुनै समय मधेशलाई अलग राज्य बनाउनु पर्छ भन्ने अलगाववादी नारा उरालेर हिडेका राउत अन्ततः उक्त बाटो त्यागेर मूलधारको राजनीतिमा फर्केसँगै यस पटकको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा भाग लिनपुगे । र एकै झमेटमा उनको प्रहारमा परे, मधेश मसिहाका रुपमा आफूलाई प्रस्तुत गरिरहेका जसपाका उपेन्द्र यादव ।

संविधानसभाको निर्वाचन यता लगातार चुनाव जितिरहेको यादवको क्षेत्रनै राउतले रोज्दा सबैले आश्चर्य व्यक्त गरेका थिए । मधेश राजनीतिको खेलाडी, लामो समय सत्ता र शक्तिको राजनीतिमा रमेका उपेन्द्रका अघिल्तिर राउतले दुस्साहस गरेको ठान्नेहरु थिए । धेरैको अनुमान थियो, विखण्डनको भड्काउबाट चुनावी राजनीतिमा आएका राउत यादवको चेपुवामा पर्ने भए ।

तर सबैको अनुमानलाई फेल ख्वाउँदै सिके सप्तरीमा मात्र चम्किएनन्, मधेशभर नै नयाँ तरंग ल्याउन सफल भए । उनको पार्टी मधेशमा शक्तिकै रुपमा देखा पर्दा मधेशको नाममा खाइखेली गरेका थुप्रैंको अवस्था भने नाजूक बनेको छ ।

सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदा रहँदै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किएका थिए । युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट उनी विभूषित छन् । जापानमा मास्टर्स डिग्री पूरा गरेका उनले बेलायतको क्याम्ब्रिज यूनिभर्सिटीबाट विद्यावारिधी गरेका छन् ।

सन् २००९ मा अमेरिकास्थित इन्टरनेट/आर्पानेट र इमेल सिस्टम विकास गरेको संस्थाको रूपमा प्रख्यात बीबीएनमा वैज्ञानिकका रुपमा काम गरेका उनी अमेरिकाबाट फर्केपछि मधेशलाई नेपालबाट छुट्याएर अलग्गै देश बनाउने उग्र विचारमा लागे । मधेश टुक्र्याउन भन्दै हिंसाका लागि युवालाई प्रेरित गर्न थालेपछि राज्यले उनलाई नियन्त्रणमा लियो ।

केही साता जेलमा कोचिएपछि राउतले तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग २०७५ फागुन २४ गते शान्ति सम्झौता गरे र विखण्डनको बाटो त्यागेर मूलधारको राजनीतिमा आउने प्रतिवद्धता जनाए ।

जसअनुसार उनी अहिले आफ्नो सम्पूर्ण सामथ्र्यसहित संसदीय राजनीतिमा होमिएका छन् । जसको पहिलो चोट भने मधेशको मसिहा ठानिरहेका उपेन्द्र यादवले ब्यहोरेका छन् । मधेसमा यादवलाई राउतले हराउनुले ठूलो सांकेतिक अर्थ राख्छ नै । जनमतको उपस्थितिले मधेशमा लामो समय रजगज गरिरहेका अरु नेताको पनि धोती खुस्काइदिएको छ ।

बदलिँदो राजनीतिक समीकरणमा सिके राउत पनि अब एउटा फ्याक्टरका रुपमा भने पक्कै देखिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?