प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि पहिलो जित दर्ता गराउने क्रममा बाँके क्षेत्र नम्बर २ बाट डा. धवलशमशेर राणा विजयी भएका छन् । २९ हजार ५ सय ७७ मत प्राप्त गर्दै राणा उक्त निर्वाचन क्षेत्रबाट विजयी बनेका हुन् ।
उनले निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईलाई पराजित गरेका । पराजित राईले २३ हजार ५२० मत पाउँदा सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४०३ मात्र मत पाए । चुनाव जितेपछि लगत्तै राणाले क्षमताले भ्याएसम्म जनता र देशका लागि योगदान गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
राप्रपाका महामन्त्रीसमेत रहेका डा. राणा नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व नगर प्रमुख हुन् । वि.सं. २०७४ मा भएको स्थानीय निर्वाचनमा उनी नेपालगञ्जको मेयरमा निर्वाचित भएका थिए ।
श्री ३ देव शमशेरका वंशज रहेका राणाले राजनीतिको शुरुवात भने नेकपा एमालेबाट गरेका थिए । तर २०६२÷२०६३ को परिवर्तन पछि भने डा. राणा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरे । राजतन्त्रविरुद्ध एमाले समेत अन्य राजनीतिक दलसँग एकजुट भएपछि राणा एमाले परित्याग गरी राप्रपामा लागेका थिए ।
वि.सं. २०५४ सालमा नेकपा एमालेबाट नेपालगञ्जको मेयर जितेका राणा वि.सं. २०७० को संविधानसभा निर्वाचनमा भने नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालासँग पराजित भएका थिए ।
शुरुमा कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेका राणा, वि.सं. २०७१ को पार्टी महाधिवेशनमा केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित निर्वाचित भएका थिए । वि.सं. २०७८ मा भएको राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनको पक्षमा लागेका राणा पार्टीको महामन्त्रीमा निर्वाचित भए ।
हालसम्म पाँच वटा निर्वाचनमा सहभागिता जनाएका राणा सबैभन्दा पहिले २०५१ को आम निर्वाचनमा बाँके २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन लडेका थिए । संसदीय चुनावमा असफल भएपछि उनी नेकपा एमाले प्रवेश गरी २०५४ सालमा नेपालगञ्ज नगरपालिकाको मेयर चुनाव जित्न सफल भएका थिए ।
विभिन्न कालखण्डमा विभिन्न पार्टीमा आवद्ध रहँदै स्थानीय तहदेखि काम गर्दै संसदमा प्रवेश गरेका राणा अनुभवी नेता हुन् । आफूसँग रहेको अनुभवलाई देश र जनताको हितमा लगाई काम गर्ने अवसर राणासँग रहँदा त्रिशंकू संसदले सृजना गर्ने विकृतिका विरुद्धमा उभिने चुनौती पनि उत्तिकै रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया