मेगा बैंकको खुद मुनाफा ४० करोड ४५ लाख

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ४० करोडभन्दा बढी भएको छ । 

आर्थिक वर्ष २०७५-७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा ४० करोड ४५ लाख भएको हो ।

अघिल्लो वर्ष सोही अवधिमा बैंकले ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको बैंकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

बैंकको कूल निक्षेप अघिल्लो वर्षको तुलनामा २६ अर्ब २७ करोडले वृद्धि भई २०७५ असोज मसान्तमा ६६ अर्ब ११ करोड पुगेको छ । 

त्यसैगरी, कर्जा तथा सापटीमा २६ अर्ब ५४ करोडले वृद्धि भई ६२ अर्ब २५ करोड कायम भएको छ । यो वृद्धिदर ७४ प्रतिशत छ । 

मेगा बैंक र साविक टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेड २०७५ वैशाख ३० गते एक भई संयुक्त कारोबार प्रारम्भ गरिएको थियो । यी दुबै बैंक एक भएपछि निक्षेप रु १२ अर्ब ७३ करोड र कर्जा प्रवाह रु १२ अर्ब ७५ करोड भएको छ । 

मेगा बैंकका १०२ वटा शाखा, १८ वटा एक्सटेनशन काउन्टर, १११ वटा शाखारहित बैंकिङ केन्द्र, दुई हजार ३ सयभन्दा बढी मेगा रेमीट सञ्जाल र ७९ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?