सानै उमेरमा सांसदको टिकट पाउने मात्र नभई एकै झमेटमा जीतको माला पहि¥याउन सफल व्यक्ति हुन्, हिमाली जिल्ला मुस्ताङका योगेश गौचन ।
टिकट पाउँदा जसरी मानिसले आश्चर्य व्यक्त गरेका थिए, यसवर्ष गरिएको आमनिर्वाचनको पहिलो विजेता बनेर संसद छिर्ने खाता खोल्दा उस्तै चर्चा कमाए योगेशले । अनेकन प्रयत्न गर्दा पनि कांग्रेसमा कस्ता कस्ता हस्तीले पाउन नसकेको टिकट उनले सहजै पाएका थिए ।
हुनत, यसका लागि उनको भन्दा पनि झण्डै ४ दशक मुस्ताङको राजनीतिमा रजगज गरेका कांग्रेस नेता एवं उनका बाबु रोमी गौचन थकालीको विशेष हात रहेको छ । आफ्ना लागि लगेको प्रतिनिधि सभाको टिकट छोरालाई जिम्मा लगाउँदा धेरैले जिल्लामा प्रभावशाली एमाले नेता एवं वहालवाला सांसद प्रेम तुलाचनका अघि उनको केही जोर नचल्ने अनुमान गरेका थिए ।
तर पाँच वर्षअघि २०७४ सालको निर्वाचनमा आफ्ना बाबु रोमीलाई हराउने उनै तुलाचनलाई सिंहदरवार छिर्ने बाटो रोक्दै संसदसम्मको यात्रा तय गर्न सफल भएका हुन् । समकालीन राजनीति त्यसमा पनि कांग्रेसमा बुढाहरुले युवालाई बाटो छेकेको आरोप लागिरहेका बेला रोमीले उत्तराधिकारीका रुपमा बेलैमा आफ्ना छोरालाई स्थापित गर्न सफल भएका हुन् ।
बाबुले आफ्ना लागि ल्याएको टिकट आफूप्रति विश्वास गरेर दिएको गुण उनले बाउ पुस्ताकै ६० वर्षीय प्रेमलाई हराएर तिरे । अर्थात्, योगेशले तीन हजार ९९२ मत ल्याएर चुनाव जित्दा एमालेका तुलाचनले तीन हजार ७८ मत मात्र ल्याउन सके ।
जम्मा १० हजार ९५७ जना मतदाता रहेको मुस्ताङमा आइतबार भएको निर्वाचनमा ७ हजार २३० मत खसेको थियो ।
२०७४ को चुनावमा एमालेका तुलाचन ३ हजार ५४४ मत पाएर निर्वाचित हुँदा कांग्रेसका रोमी ३ हजार १८१ मत ल्याएर पराजित भएका थिए । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनसमेत आफ्नो अनुकूलमा नभएपछि राजनीतिमा आएको युवा लहरलाई पक्रेर रोमीले छोरालाई मैदानमा होमेका थिए । जुन निर्णयले संघको निर्वाचन मात्र होइन, प्रदेशका दुई सिटसमेत जितेर क्लीन स्वीप गर्न सघायो ।
जबकी ५ स्थानीय तहमध्ये ४ पालिकाको अध्यक्ष जितेको एमालेसँग कांग्रेसभन्दा ४०० मत बढीको गणित थियो ।
मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीमा २०५० सालमा जन्मिएका योगेश र पराजित प्रेम नातामा साला भेना हुन् । योगेशका बुवा र प्रेम मामा–फूपूका छोरा हुन् । कांग्रेसबाट प्रतिनिधि सभामा पुग्ने सबैभन्दा कम उमेरका योगेश तत्कालीन लेते गाविसको पार्टी सभापति तथा हाल गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि हुन् ।
भारतमा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएका योगेश राजनीतिसँगै व्यापारमा संलग्न छन् । गौचनको लेतेमा कालोपानी गेस्ट हाउस होटल छ भने उनी ट्राभल्स कम्पनी पनि सञ्चालन गर्छन् ।
चार दशक बढीदेखि कांग्रेस मुस्ताङको राजनीतिमा रहेका उनका बुबा रोमीले भने २०५६ र २०७० सालमा निर्वाचनमा जितेका थिए । पूर्वमन्त्री समेत रहेका रोमीले २०६४ र २०७४ को चुनाव भने हारेका थिए ।
चीनको सिमानामा रहेको कोरला नाका सञ्चालन गर्न चिनसँग कूटनीतिक पहल गर्ने, त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दा योगेशका प्राथमिकतामा छन् ।
जोमसोम–कोरला सडक कालोपत्रे गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने प्रतिवद्धता उनले मतदाता समक्ष गरेका छन् ।
यसैगरी मुस्ताङकै प्रदेश सभातर्फ भने क मा कांग्रेसकै नाम्डु गुरुङले एमालेका इन्द्रधारला ड्याडु विष्टलाई पराजित गरेका छन् । गुरुङले १ हजार ४८ मत ल्याउँदा विष्टले ७ सय ९३ मत मात्रै पाएका हुन् ।
प्रदेश ख मा भने कांग्रेसकै विकल शेरचन एमालेका चन्द्रमोहन गौचनलाई हराउँदै विजयी बनेका छन् । शेरचनले २ हजार ७२३ मत ल्याउँदा गौचनले २ हजार ५६५ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया