स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर मूल्यमा उच्च गिरावट

काठमाडाैं : गत बर्ष १००% बोनश शेयर दिएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले यो बर्ष १७.५% मात्रै नगद लाभांश दिएपछि यसको शेयर मूल्यमा चर्को गिरावट अाएको छ । 

अघिल्लो अार्थिक बर्षको तुलनामा निकै कम प्रतिफल दिएपछि बैंकको शेयर मुल्यमा पहिरो चलेको हो । लगानीकर्ताले कम प्रतिफल दिने यो बैंकको शेयर साँचेर राख्न नचाहेपछि एकैदिन ५९ रूपैयाँ मूल्य घटेको छ । 

अार्इतबार बजार खुल्नुअघि यो बैंकको प्रतिकित्ता शेयर मूल्य ६९० रूपैयाँ थियो । तर, बजार बन्द हुँदा स्ट्यान्डर्डको शेयर मूल्य ६३१ रूपैयाँमा झरेको छ । बैंकको शेयर मूल्यमा अचानक चर्को गिरावट भएपछि नेप्सेले केही समयका लागि कारोबार नै बन्द गरिदिएको थियो । नेप्सेले शेयर मूल्यमा अस्वाभाविक गिरावट अाउँदा 'सर्किट ब्रेक' लगाउने गर्छ । 

यो बैंकले अार्इतबार गत अार्थिक बर्षको नाफाबाट १७.५% नगद लाभांश दिने घोषणा गरेको थियो । तर, बोनस शेयरको पर्खार्इमा रहेका लगानीकर्ताहरूलार्इ नगद लाभांशले लोभ्याउन नसकेपछि धमाधम शेयर बेच्न थालेका थिए । 

लगानीकर्ताले धमाधम शेयर बेच्न थालेपछि अार्इतबार मात्रै यो बैंकको ६ करोड ९० लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?