नुवाकोटमा संघमा गठबन्धनका केसी र तामाङ जीततर्फ, एमालेका उम्मेदवारहरु संघर्षरत

लोकपथ
1.3k
Shares

विदुर । मंसिर ४ गते आइतवार हुने निर्वाचनमा नुवाकोट जिल्लामा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुको जीत निश्चित देखिएको छ ।

जिल्लामा मुख्य प्रतिष्पर्धी मानिएका दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका साथमा नेकपा एकीकृत समाजवादीसमेतको गठबन्धन बनेकाले गठबन्धनका तर्फबाट उम्मेदवार बन्नेहरुको जीत सुनिश्चित देखिएको निर्वाचन अभियानलाई नजिकबाट नियालिरहेका स्वतन्त्र विश्लेषकहरुले जनाएका हुन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेकाहरुलाई चुनौती भने नेकपा एमालेका उम्मेदवारहरुले दिनेछन् । यद्यपि, जिल्लामा रहेका प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार वटा क्षेत्रमा दल र स्वतन्त्र गरी ६३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा सत्ता गठबन्धनतर्फ १ नम्बर क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा पर्दा २ नम्बर भने नेपाली कांग्रेसको पोल्टामा परेको छ । १ नम्बरबाट अघिल्लो निर्वाचनमा विजयी माओवादीका हितबहादुर तामाङ यस पटक पनि प्रतिष्पर्धामा छन् भने २ नम्बरबाट कांग्रेसका नेता अर्जुननरसिंह केसी चुनावी मैदानमा छन् ।

प्रदेशतर्फ भने १ को क मा माओवादीकी राधिका तामाङ तथा ख मा कांग्रेसका रमेश महत उम्मेदवार रहँदा २ को क मा माओवादीका रामप्रसाद ढुंगाना र ख मा कांग्रेसका बहादुरसिंह लामा प्रतिष्पर्धामा छन् ।

उता, जिल्लाको निर्वाचनमा मुख्य प्रतिष्पर्धी मानिएको नेकपा एमालेले भने १ नम्बर क्षेत्रको संघमा बद्री मैनाली र प्रदेशतर्फ क मा सुशील खड्का तथा ख मा पूर्णदास श्रेष्ठलाई मैदानमा उतारेको छ । त्यसैगरी, २ नम्बरमा संघतर्फ नारायण खतिवडा तथा प्रदेशको क मा केशवराज पाण्डे तथा ख मा विजय लामा प्रतिष्पर्धामा छन् । यद्यपि, दुबै क्षेत्रमा संघ र प्रदेशतर्फ विभिन्न साना दल र स्वतन्त्रले पनि उम्मदवारी दिएका छन् ।

उसोत, २०७४ सालको निर्वाचनमा बनेको कम्युनिष्ट गठबन्धनले नुवाकोटको दुबै क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई पराजीत गराएका थिए । संघ र प्रदेश दुबैतिर वाम गठबन्धनले विजयी झण्डा लहराउँदा कांग्रेसले पराजय ब्यहोर्नुपरेको थियो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच बनेको गठबन्धनमा १ नम्बर क्षेत्रको संघमा माओवादी केन्द्रका हितबहादुर तामाङले कांग्रेस उम्मेदवार डा. रामशरण महत तथा प्रदेशको कमा माओवादीकै राधिका तामाङले कांग्रेसका महेन्द्र तामाङ र ख मा एमालेका बद्री मैनालीले कांग्रेसका रमेश महतलाई पराजीत गरेका थिए ।

२ नम्बर क्षेत्रको प्रदेशमा भने एमालेका नारायण खतिवडाले कांग्रेसका अर्जुननरसिंह केसी तथा प्रदेशतर्फ क मा एमालेका केशवराज पाण्डेले कांग्रेसका जगदिश्वर नरसिंह केसी तथा ख मा माओवादीका हिरानाथ खतिवडाले कांग्रेसका जगतबहादुर तामाङलाई पराजीत गरेका थिए ।

तर यस पटक देशभर कांग्रेस, माओवादीसहितका दलहरुको गठबन्धन बनेकाले नुवाकोटमा कांग्रेसका लागि अघिल्लो पटकको चुनावी परिणाम उल्टने देखिएको हो ।

नुवाकोटमा यसै पनि मुख्य प्रतिष्पर्धी कांग्रेस र माओवादी रहेकाले उनीहरुबीचमै गठबन्धन बनेकाले ६ वटै पदमा गठबन्धन उम्मेदवार नै जित्ने मतदाताहरु पनि बताउँछन् ।

जिल्लाको सबैजसो क्षेत्रमा पुग्दा मतदाताहरुले दलहरुको क्रियाकलाप र रवैयाप्रति आक्रोश व्यक्त गरे पनि जिल्लाको समस्या केन्द्रमा पु¥याउन प्रभावशाली प्रतिनिधि जरुरी देखिएको भन्दै यस पटक उक्त हैसियत भएका केसी र तामाङसहितका गठबन्धन उम्मेदवारहरुलाई मत दिने बताए ।

उसोत, दुबै क्षेत्रमा केही साना दल र स्वतन्त्रले पनि गठबन्धन र एमालेको मत तान्नसक्ने भएकाले सोचेजस्तो दुई फ्याकमा मत विभाजन नहुने र बाँडिने आंकलन केही विश्लेषकको छ । साना दलतर्फ, अरु उम्मेदवारको तुलनामा अलिक ठूलो संख्यामा मुख्यतः राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले मत थुत्न सक्ने आंकलन छ । संघतर्फ १ नम्बर क्षेत्रमा राप्रपाका सुदर्शन सिटौला र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रद्युम्न महत क्षेत्री उम्मेदवार रहँदा क्षेत्र नम्बर २ मा राप्रपाका झनक प्याकुरेल, र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमनविक्रम पाण्डे उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?