कैलाली । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरू अन्तिम कसरतमा छन् । निर्वाचन आयोगले आज मध्यराति १२ बजेसम्म मात्रै चुनावी प्रचारप्रसार गर्न पाउने जनाएसँगै राजनीतिक दलहरु अन्तिम कसरतमा छन् ।
चुनावी माहोल आ–आफ्नो पक्षमा मत केन्द्रित गर्न आन्तरिक रणनीतमा दल र उम्मेदवारहरू लागेका हुन् । कैलाली क्षेत्र नं. २ (ख) को प्रदेशसभामा सत्ता गठबन्धन, नेकपा एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नम्बर २ (ख) को प्रदेशसभामा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नन्दबहादुर साउँद (राजेन्द्र) उम्मेदवार छन् ।
साउँदको उम्मेदवारीविरुद्ध नेकपा (माओवादी केन्द्र) का सन्तु डंगौराथारुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । लामोसमय नेकपा (माओवादी केन्द्र) को राजनीतिमा सक्रिय रहेका उनी केही महिनाअघि मात्रै पार्टीबाट विद्रोह गरी बागी उम्मेदवार उठ्दा एमाले यहीँ मौकामा चुनाव जित्ने रणनीतिमा लागेको छ । एमालेले पार्टीका कैलाली जिल्ला सचिवसमेत रहेका डेजी पाण्डेलाई उम्मेदवार बनाएको छ ।
पाण्डे प्रदेशसभामा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् भने साउँद यसअघि २०७४ को निर्वाचनमा प्रदेश सभामा निर्वाचित भएका थिए । सत्ता गठबन्धनबाट साउँद पुनः दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् । प्रदेशसभामा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार साउँदले कांग्रेसलगायत अन्य पार्टीको समर्थनबाटै आफूले चुनाव जित्ने दाबी गरिरहेका छन् ।
गत स्थानीय तहको मत परिणामका आधारमा कांग्रेस पहिलो जनाधार भएको पार्टी हो । तेस्रोमा नेकपा (माओवादी केन्द्र) रहेको छ । यहाँ नागरिक उन्मुक्ति पार्टी चौथो शक्तिको रुपमा देखिएको छ । थारु समुदायकोसमेत बाहुल्यता रहेको यसक्षेत्रमा मत विभाजन भएर जानसक्ने धेरैको आंकलन छ । प्रदेशसभा सदस्यमा अर्का स्वतन्त्र उम्मेदवार भरतकुमार शाही चुनावी प्रतिस्पर्धामा उत्रिएसँगै प्रमुख दलका उम्मेदवारलाई सहजै जित निकाल्न चुनौती थपिएको छ ।
शाहीले कांग्रेसबाट विद्रोह गरी मनोनयन दर्ता अघि मात्रै पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसक्षेत्रबाट प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका तेजप्रकाश बडायक, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका जंगबहादुर देउवा चुनावी दौडमा छन् ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी, नेपाल मजदुर किसान पार्टीका दीपा विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका एकेन्द्रबहादुर मल्ल चुनावी प्रतिस्पर्धामा छन् । प्रदेशसभा अन्तर्गत बर्दगोरिया गाउँपालिकाका ६ वटै वडा, मोहन्याल गाउँपालिकाका १, २, ३, ४ र लम्कीचुहा नगरपालिकाका ६, ८, ९ र १० गरी १४ वडाहरु पर्दछन् ।
प्रदेशसभा २ (ख) मा २३ हजार ७४६ पुरुष, २४ हजार ८१७ महिला र अन्य १ गरी ४८ हजार ५६४ जना मतदाता छन् । यहाँ प्रदेशसभातर्फ दुई स्वतन्त्रसहित ९ जना उम्मेदवार रहेका छन् । यसक्षेत्रमा कांग्रेस ठूलो पार्टी हो । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा गठबन्धन बलियो देखिएको छ ।
कांग्रेसका वडाध्यक्षले ८ हजार १६३ मत पाएको छ । एमालेले ७ हजार १७ मत ल्याएको थियो । माओवादी केन्द्रले ३ हजार ८०४ मत, नागरिक उन्मुक्ति पार्टीले ३ हजार ५२२ मत, स्वतन्त्र उम्मेदवारले १ हजार ३९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ३९७ मत ल्याएका थिए । त्यस्तै, नेपाल लोकतान्त्रिक पार्टीका वडाध्यक्षले १ हजार १३१ मत, एकीकृत समाजवादीले ४९२ मत, मंगोल नेशनल अर्गनाइजेशनले ३६ मत र नेपाल मजदुर किसान पार्टीले ३ मत ल्याएका थिए ।
स्थानीय तहको मत संख्याका आधारमा नेकपा (एमाले) सत्ता गठबन्धन भन्दा कमजोर देखिएको छ । तर, यहाँ स्वतन्त्र उम्मेदवारले गठबन्धनभित्रको मत काट्ने अड्कलबाजी छ । स्वतन्त्ररुपमा उम्मेदवारी दिएका भरतकुमार शाही र सन्तु डंगौराथारुले पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेका छन् ।
यहाँ सत्ता गठबन्धन, एमालेबीच कडा प्रतिस्पर्धा हुने चर्चा छ । थारु समुदायको मत नागरिक उन्मुक्ति पार्टीतर्फ जाने र अन्य समुदायको मत विभाजित हुने अनुमानसमेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया