शेरबहादुरले दिए चुनावमा चासो

काठमाडौँ, कातिक २ —प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरू तथा आयोगका सचिवले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन् ।भेटका अवसरमा प्रधानमन्त्रीबाट आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सञ्चालन गर्नका लागि आयोगबाट भइरहेको तयारीप्रति सन्तोष व्यक्त गरेका थिए ।उनले तोकिएको मितिमा निर्वाचन गर्नका लागि निर्वाचन आयोगलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग नेपाल सरकारबाट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै निर्धक्कसँग निर्वाचनसम्बन्धी काममा खटिन आयोग पदाधिकारीलाई आग्रह गरेको आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपाल सरकारले तोकेको मितिमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन एकैपटक दुई चरणमा सम्पन्न गर्ने गरी निर्वाचन आयोगले निर्वाचन कार्यतालिका बनाई सोहीअनुसार काम गरिरहेको जानकारी दिए ।उनले निर्वाचन कार्यक्रम अनुसार गत असोज २९ गते राजनीतिक दलका तर्फबाट व्यापक उत्साहका साथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस भएको अवगत पनि गराए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?